काठमाडौं । सत्तारूढ गठबन्धनमा छ महानगरमध्ये तीन महानगर नेपाली कांग्रेसले राखेर बाँकी तीन महानगर नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपालाई एक एक महानगर दिने तयारी भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का अनुसार महानगर कहाँ कसले लिने भन्नेबारे करिब सहमति भइसकेको छ । ‘आज साँझसम्म महानगर र उपमहानगरबारे सहमति बनिसक्छ,’ उनले आज पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा भने ।
छ महानगरमध्ये तीन महानगर कांग्रेसले राखेर बाँकी तीन महानगर माओवादी, एकीकृत समाजवादी र जसपालाई एकेक महानगर दिने तयारी छ ।
कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर लिने सम्भावना छ ।
माओवादीले भरतपुर महानगर दाबी गरेको छ । एकीकृत समाजवादीले पोखरा महानगर पाउनुपर्ने बताएको छ भने जसपाले वीरगञ्ज महानगर मागेको छ ।
प्रचण्डले माओवादीले कम्तिमा एक महानगर लिने बताए । भरतपुर पहिले पनि जितेको हुनाले त्यो महानगर लिने भनिएको उनको भनाइ थियो । तर भरतपुर नै चाहियो नभनिएको उनले प्रष्टाए । काठमाडौं वा विराटनगरमध्ये एक दिन पनि माओवादीले मान्ने उनले बताए ।
११ उपमहानगरमा पनि दलहरूले भागबन्डा गर्ने तयारी गरेका छन् । आज बिहान सत्तारूढ दलका शीर्ष नेताहरू बालुवाटारमा बैठक बसेका थिए । दिउँसो केहीबेर स्थगित बैठक फेरि बस्ने तयारी छ ।
वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ र १२ मा मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगको तालिका छ ।





















प्रतिक्रिया