ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिएका एक व्यक्ति पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले आइतबार संजय शाक्यलाई ललितपुरको नख्खुबाट पक्राउ गरेको एसपी इश्वर कार्कीले जानकारी दिए।
‘उनले एक अन्तरवार्तामा मेयरको घाँटी काट्छु भनेकोले नख्खुबाट पक्राउ गरेका छौं,’ एसपी कार्कीले भने, ‘पुल्चोकमा भएको यसअघिको झडपमा प्रहरीमाथि ढुङ्गामुढा पनि गरेका थिए।’
उनीमाथि थप अनुसन्धान गर्न महाशाखाले महानगरीय प्रहरी परिसर, ललितपुरमा बुझाएको छ। गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छेन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो।
त्यसैक्रममा शाक्यले एक टेलिभिजनसँग अन्तर्वाता दिँदै मेयर तथा वडाध्यक्षको घाँटी काट्ने धम्की दिएका थिए। ‘मेयरले बोलेन भने मै त्यसको घाँटी काट्छु। आत्महत्या गर्नुअघि म त्यसको घाँटी काट्छु,’ शाक्यले भनेका थिए, ‘हामी नेवारहरूको यस्तो ठूलो चाड जात्रालाई किन रोक्ने? किन दमन गर्ने?’
प्रहरीले बिहीबार पुल्चोकमा भएको घटनामा संलग्न १६ जनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ। उनीहरूविरूद्ध सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धान अघि बढाएको डिएसपी सन्तोष तामाङले जानकारी दिए। ‘हामीले १९ जनालाई पक्राउ गरेका थियौं। अहिले ३ जना छुटेका छन्,’ उनले भने ‘अन्यविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएका छौँ।’




















प्रतिक्रिया