Logo

लोकसेवा

लोकसेवा विशेष प्रश्नोत्तर कार्यक्रम (अङ्क–५६)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ सालअसार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोकसेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोकसेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकताअनुसार अन्य सदस्यहरू रहने गरी लोकसेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागका अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आजका प्रश्नहरू यसप्रकार छ :

१. वि.सं. २०७८ को पुष्पलाल राष्ट्रिय पुरस्कार कस कसलाई प्रदान गरियो ?

उत्तर– घनेन्द्र बस्नेत (राजनीतिक/सैद्धान्तिकतर्फ), डा. ढाकाराम सापकोटा (इतिहास) र जगन्नाथ आचार्य (साहित्य, संस्कृति, विज्ञान)

– २०७७ सालको यो पुरस्कार मोहनचन्द्र अधिकारी (राजनीतिकतथा सैद्धान्तिक), प्रा.डा. कृष्णप्रसाद पोखरेल (इतिहास) र पवित्रा घर्ती (साहित्य, संस्कृति तथा विज्ञान)लाई प्रदान गरिएको ।

– पुरस्कारको राशि नगद रु. एक लाख रहेको ।

– संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको । सरकारले आ.व. २०६८–६९ को नीति तथा कार्यक्रम र सोही वर्षको बजेट वक्तव्यमा पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको र सोही बमोजिम हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु–याउने स्रष्टालाई प्रदान गरिँदै आएको ।

२. १२औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिम कुन हो ?

उत्तर– लुम्बिनी प्रदेश (१६ स्वर्ण, ११ रजतर ११ कांस्य)

– दोस्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, नौ रजत र २० कांस्य पदक एवं तेस्रो भएको सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, नौ रजत र आठ कांस्य पदक प्राप्त गरेको ।

– गण्डकी र कर्णालीले समान पाँच–पाँच स्वर्ण हात पारेका । गण्डकीले थप ११–११ रजत र कांस्य पदक पनि हात पारेको । कर्णालीले १० रजतर १५ कांस्य पदक जितेको ।

– प्रतियोगितामा भलिबलको छात्रमा गण्डकी तथा छात्रामा बागमतीले उपाधि जितेका ।

– मार्सल आर्ट्समा बागमतीकै दबदबा रहेको । कराँते, तेक्वान्दो र उसुमा बागमती टिम च्याम्पियन बनेको ।

३. विश्वकै बढी उचाइमा गल्फकोर्स कहाँ निर्माण गरिएको छ ?

उत्तर– ल्होमन्थाङ (मुस्ताङ)

– उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–५ लोवाथाङमा चार हजार ६५० मिटरको उचाइमा गल्फ कोर्स निर्माण गरिएको ।

– गण्डकी प्रदेश सरकारको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्मित सो गल्फकोर्स नौ होलयुक्त रहेको । यसलाई ‘मुस्ताङ गल्फकोर्स’नामकरण गरिएको ।

– अहिले नौ होलको गल्फकोर्स निर्माण सम्पन्न भएको र पछि त्यहाँ १८ होलको गल्फकोर्स निर्माण गर्न सकिने सम्भावना समेत देखिएको ।

– भारतको सिक्किममा तीन हजार ९०० मिटरको उचाइमा रहेको गल्फकोर्स गिनिजबुकमा दर्ज भएको र मुस्ताङ गल्फकोर्स चार हजार ६५० मिटरको उचाइमा रहेकाले यस गल्फकोर्सले विश्वकीर्तिमान कायम राख्दै गिनिजबुकमा रेकर्ड राख्ने दाबी गरिएको ।

४. नेपालकै पहिलो कोभिड विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर कुन हो ?

उत्तर– बुटवल उपमहानगरपालिका

– वि.सं. २०७९ असार २७मा बुटवल उपमहानगरपालिकालाई १२ वर्षमाथिकाउमेर समूहको कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको ।

५. काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह (ड्राइपोर्ट)बाट पहिलो पटक स्वदेशी वस्तुको निर्यात सुरु कहिले देखि भएको हो ?

उत्तर– वि.सं. २०७९ असार २८

– सञ्चालनमा आएको झन्डै तीन महिनापछि यस बन्दरगाहबाट नेपालमा उत्पादनभएका सामान विदेश निर्यात सुरु भएको ।

– वि.सं. २०७८ चैत २२ देखि बन्दरगाह औपचारिक रूपमा सञ्चालनमा आएको थियो ।

– चोभारबाट भन्साार पास गरेर सिधै सामान डेनमार्क गएको ।

– सञ्चालनमा आएको बन्दरगाहमा अहिलेसम्म सात करोड ३९ लाख रुपियाँ बराबरको १६ कन्टेनर सामान बाहिरी मुलुकबाट आयात भएको ।

– चोभार बन्दरगाहबाट सबै भन्सार चेकजाँच भएर जाने हुँदाबीचमा नरोकिई सम्बन्धित ठाउँमा सामान निर्यात हुने । त्यस्तै छिमेकी भारत हुँदै तेस्रो मुलुकबाट आएका सामान वीरगञ्ज भन्सारमा चेकजाँच नभई सिधै चोभारमा आउन सक्ने भएकाले सामान ढुवानीमा लाग्ने समय र लागत बचत हुने ।

– बन्दरगाहभित्र भन्सार जाँचपास कार्यालय, क्वारेन्टाइन, प्रशासनिक भवन, कन्टेनर पार्किङ, गोदाम घर, चेकजाँचकक्ष सबै सुविधा एकै ठाउँमा रहेको ।

– विश्व बैङ्कको एक अर्ब ५४ करोड रुपियाँ सहयोगमा २६० रोपनी क्षेत्रफलमा बन्दरगाह निर्माण भएको ।

६. सबैभन्दा अग्लो स्थानमा निर्मित सबस्टेसन कुन हो ?

उत्तर– ३३–११ केभीको स्यार्कु सबस्टेसन, (मनाङ)

– लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ चिप्लेबेसी सबस्टेसनबाट २९ किलोमिटर टाढा ३३ केभीलाइनमार्फत दुई हजार ७०० मिटर उचाइमा निर्माण गरिएको मनाङको स्यार्कु सबस्टेसन सञ्चालनमा ल्याइएको ।

– गतवर्ष (२०७८)को असारमा अविरल वर्षासँगै आएको बाढीले मनाङको विद्युत् संरचनाको पूर्वाधार तथा सडक सञ्जालमा ठूलो क्षतिभएको थियो ।

७. गण्डकी रत्न अवार्डबाट सम्मानित हुने व्यक्तित्वको हुनुहुन्छ ?

उत्तर– महावीर पुन (२०७९ असार)

– पुनले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेकाकदमको सम्मान गर्दै गण्डकी रत्न प्रदान गरिएको ।

– यो अवार्डबाट सम्मानित हुने पहिलो व्यक्ति पुन हुनुभएको ।

– राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक पुन वायो–मेडिकल, कृषि, शिक्षा, विज्ञानलगायतका क्षेत्रबाट राष्ट्र सेवा गर्दै आउनुभएको ।

– उहाँ रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित व्यक्तित्व हुनुहुन्छ ।

८. राष्ट्रिय आविष्कार केन्द्रको स्थापना कहिले भएको हो ?

उत्तर– वि.सं. २०७६ कात्तिक १

– केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा यो संस्था स्थापना भएको ।

– केन्द्रको निर्माण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा गरिएको ।

– केन्द्रको निर्माण लागत करिब आठ करोड रुपियाँ रहेको ।

९. गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने जिल्ला कुन हो ?

उत्तर– बागलुङ

– प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा सम्पन्न सो प्रतियोगिताको उपाधि बागलुङले जितेको । समग्रमा १० स्वर्ण, १३ रजत र चार कांस्यसहित रनिङ शिल्ड हातपारेको ।

– नवलपुरले नौ स्वर्ण, छ रजतका साथ दोस्रो स्थान र

स्याङ्जा छ स्वर्ण, दुई रजत र दुई कांस्य पदकसहित तेस्रो स्थान प्राप्त गर्न सफल भएका ।

– प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका ५७४ खेलाडीको सहभागिता रहेको ।

– यसअघि जिल्लास्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा विजेता बन्न सफल खेलाडी प्रदेशस्तरमा सहभागिता जनाएका । प्रदेशस्तरको प्रतियोगिताबाट छनोट भएका खेलाडी राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुने प्रावधान रहेको ।

१०. हालै (२०७९ असार) गुणस्तर प्रमाणीकरण आईएसओ ९००१ः२०१५ प्राप्तगर्न सफल नेपाली संस्था कुन हो ?

उत्तर– भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, धुलिखेल (काभ्रे)

– क्वालिटी अस्ट्रिया नामक संस्थामार्फत केन्द्रलाई गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेबापत आईएसओ प्रदान गरिएको ।

– केन्द्रले प्रदान गर्दै आएको तालिम अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय रहेको प्रमाणस्वरूप आईएसओ प्राप्त गरेको बताइएको ।

– केन्द्रले हरेक वर्ष सर्वेक्षण तथान क्साङ्कन (जियोमेट्रिक्स)को क्षेत्रमा शैक्षिक तथा गैरशैक्षिक तालिम तथा शिक्षा प्रदान गर्दै आएको ।

– केन्द्रले काठमाडौँ विश्वविद्यालयसँग मिलेर शैक्षिक कार्यक्रम अन्तर्गत स्नातक र स्नातकोत्तर तहमा जियोमेट्रिक्स इन्जिनियरिङका कक्षा सञ्चालन गर्दै आएको ।

– यसैगरी केन्द्रले सरकारी निकायमा कार्यरत नापी र मालपोतमा काम गर्ने कर्मचारी तथा अन्य नाप नक्साको काम गर्ने कर्मचारीका लागि लामो र छोटो अवधिका विभिन्न तालिम सञ्चालन गर्ने ।

– केन्द्रले दस जोड दुईमा विज्ञान विषयअध्ययन गरेका विद्यार्थीलाई एकवर्षे जुनियर नापी तालिम तथा यस वर्ष जिल्ला न्यायाधीशका लागि जग्गा प्रशासनसम्बन्धी अनुशिक्षणसमेत गरेको ।

– केन्द्रको मानव संशाधनविकास, प्रशिक्षार्थी छनोटको मापदण्ड, तालिम पछिको प्रभाव मूल्याङ्कन, कार्यालयको कागजात, पुस्तकालयको व्यवस्थापन, गुनासो व्यवस्थापन तथा सम्बोधन, प्रशिक्षकको दक्षता लगायतका विषयलाई सूचक मानेर क्वालिटी अस्ट्रिया नामक संस्थाले उक्त आईएसओ प्रमाणीकरण गरेको ।

११. हालसम्म सार्क शिखर सम्मेलनआयोजना नगरेको सार्क राष्ट्र कुन हो ?

उत्तर– अफगानिस्तान

१२. काठमाडौँ उपत्यकामा घुम्ती हुलाक सेवाको सुरुवात कहिले देखि भएको हो ?

उत्तर– वि.सं. २०७४ वैशाख १५

१३. युरोमनी अवार्ड फर एक्सलेन्स वेस्ट बैङ्क नेपाल २०२२ बाट सम्मानित हुने नेपालको वित्तीय संस्था कुन हो ?

उत्तर– ग्लोबल आईएम बैङ्क लि.

– सन् १९९२ मा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो ।

– युरोमनी समूहमा बैङ्क तथा वित्तीय क्षेत्रका ख्याति प्राप्त तथा अनुभवी व्यक्तिहरू रहेका ।

१४. हिल स्टेसन अफ नेपाल भनी कुन ठाउँलाई चिनिन्छ ?

उत्तर– शैलुङ (दोलखा)

१५. व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो ?

उत्तर–रोबोट परी

– निर्माणकर्ता : इन्जिनियर (पाइला टेक्नोलोजी)

– प्रयोगगर्ने संस्था : एसबीआई बैङ्क

– प्रयोगमा ल्याउन थालिएको : वि.सं. २०७४ असारदेखि ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार ०५:३०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।