अहिले म लक्ष्मीमाताको खुसी उत्खनन् गर्दै तिहार मान्न लागेको छु । म जस्ता नेपालीहरूको यो अवस्था किन होला भने ज्ञान बुद्धि, विवेक र दायित्व भनेर वर्गाल्ने लक्ष्मी सैता सरस्वतिले गर्नु नगर्नु गरिन् । धनबल, बाहुबल र बुद्धिबल धनकी देवी हजुर सबैकी अगुवा भएकीले सक्कली भक्त बन्न अब ध्यान गर्दै छु । सुखको खानी र कुबेरको खजाना खोलिदिने हुँदा अहिले पूजा तयारी गर्दै छु । भलै अभागी र हुतिहाराले भने हजुरका योग्य र क्षमतावान भक्तहरूलाई द्रव्यपिशाच किन नभनुन् । म लुकाएर, छिपाएर भए पनि हजुरकै खसोखास भक्त थिएँ र हुँ । शंका नगरिबक्सियोस् । अब यो नास्तिकको रहेन हैन । भौतिकवादीको नाटक गरेको मात्र थिएँ । नक्कली आर्दशवादी र सक्कली लक्ष्मीभक्त ।
धन सम्पत्ति कसलाई पो चाहिँदैन र ! अहिले ममतामयी माता समक्ष करकमल जोड्दै लक्ष्मीपूजा गर्दैछु लक्ष्मीजयन्ती –(देवकोटा) हैन । हजुरकी त्यस सौताको आराधना गरेर पाएको यो सुख, सुविधा र तुजुक त्याग्ने महामूर्ख अब भने बन्ने छैन । त्यसैले मलाइ मात्रै धनाढय बन्ने आशीर्वाद दिनुहुन्छ भन्ने यो भक्तको पूर्ण विश्वास हो । लक्ष्मीप्रसाद देवकोटा जस्ता ‘पागल’ र आफ्नो जोहो नगर्ने ‘मुर्खको’ मैले झुक्किएर पनि कहिल्यै आराधना गरिन । मेरो वंशले पनि त्यस्तो दुखकाे मेसो कहिल्यै नगरोस् । अक्षर मेरो बैरी हो भने सरस्वती मेरी दुस्मन । अब ममतामयी माताश्री …… सिद्धान्तवादी महामूर्खसँग अब कहिल्यै संगत गर्दिन र सम्बन्ध पनि राख्दिन, । बाचा कबुल हो, माता । त्यसैले यो तिहार धुमधामसँग मनाउँछु ।
मलाई विश्वकै महाधनी बन्ने सोख छ । मेरो कम्पिटिसन बिल गेटसँग बनाइदिनुस्.. माता । मेरो नाम फाेर्ब्सको शीर्षस्थानमा टाङ्गिंयोस् । हुन त सबैलाई बरदान दिनु भएको होला । विनोद चौधरी, मुकेश अम्बानी र शेष घलेले दरखास्त हाल्न उछिने नै होलान् । तर ती सबैलाई एकचोटी जिल्याएर माता मलाई फाेर्ब्सकाे प्रथम सूचीमै राखिदिएर खर्बपति बनाइदिन करकमल जोड्छु, साष्टाङ्ग प्रणाम गर्छु ।
अब म दिलको बात खुलेर भन्छु । आर्दश र सिद्धान्त भनेका या त मुर्खका कुरा हुन् या त पानी मरुवालाई, या त त्यसैलाई भर्याङ्ग बनाएर छतमा पुग्ने चतुरेहरुका । तर त्यो खसोखास कुरा अरु कसैलोई पनि भन्दिन । हजुरसँग भने आफ्ना कथा, ब्यथा, सपना भूमिका र चाहना सबै भनिदिन्छु । अरुसँग झुटो बोले पनि मेरो भाग्य सपार्ने माताश्रीसँग झुटो कसरी बोल्न सक्छु र ! बोल्दै बोदिल्न । आफू मौकामा चौका हान्न नजान्ने, नसक्ने जुक्ति र बुद्धि नभएको हिजोको लठुवा परेँ । तर आज त्यस्तो भने छँदै छैन । आर्दश फलाक्दै जोहो मिलाउन जान्ने भइसकेँ । अब मैले माताको आराधना सुरु गरिसकेँ । म गेरु वस्त्रधारक मानिस हुँ र आखा भएको धृतराष्ट्रको कर्तुतलाई प्रजातान्त्रिक अभ्यास भन्ने लाचार डेमोक्रेट्स हुँ ।
अहिले ज्ञान, विज्ञान सबै हजुरकै चरणदास बनेका बेलामा हजुरको शरण नपर्ने कुन ड्याङ्गको मुला हुँ र ! कुनैबेला ती हजुरका सौता सरस्वतीपुत्र भन्न हौसिन्थेँ, अहिले आएर आस्था फेरिए । सिद्धान्त सिद्धान्तभन्दै लाग्ने मनुवा रहिन । त्यस्तालाई पिच्च थुक्न सकेरै हो, तिहार मनाउन अहिले कम्मर कसेको ।
माता तपाईँको सांसारिक मोहिनीजालले मलाई उद्धार गरी बक्सियोस् । यो सुदामाको हैसियतबाट खर्वपति बनाइदि बक्सियोस । म लक्ष्मीमोहबाट अछुतो कसरी हुनसक्छु ! यो उत्तखननै मेरो ध्यौसी, भैलो र यमपञ्चक जुवा हो । त्यसैले आफैँलाई नग्याउँदै अर्काको हुर्मत काढ्ने र बेईज्जत गर्ने अहिले जमर्को गर्दै छु । स्वर्गको छप्पर खोलेर वर्षाइदिनुस धनको ओइरो….. छक्क परुन् न विल गेट्सहरू । अरुलाई होचो नपारी खुट्टा नकाटी आफू अग्लो कसरी हुनसक्छु र ! आशीर्वाद मिलोस् धनदेवी ।
अब म बहुलाले भन्दा पनि सेन्सरहीन कुरा बोली दिन्छु । जस्लाई लाज लाग्छ ! उसकाे इज्जत भड्सेरामा परोस् । या आँखा छोपोस् । म भने अहिले घोषित रुपमै सर्वाङ्गिंन बनिदीन्छु । जन्मँदा नाङ्गै जन्मेँ, मर्दा नाङ्गै अन्त्यष्टी हुनेछ । यमनी ….मेरी दिदी बन्नै सक्दिन । यमराजलाई खुसी पारेर मेरो आयु नल्याउ …. मेरा दिदीहरु । मलाई लक्ष्मीमाता बेगर कसैमाथी अब विश्वास नै छैन । बिचको दुईदिनको यो जुनी । कपडा बेरेर नक्कली मान्छे म बन्दै बन्दिन । म आधुनिक महावीर बन्न जैनमुनी बनिदिन्छु । जग हाँसाेस् । हाँस्दै रहाेस् केही छैन । म लक्ष्मीमैयाको आधुनिक असली चेलो बनिदिन्छु । कुन्तीपुत्रले द्रौपती र हस्तिनापुर दाउमा लगाएझै सिद्धान्तलाई म पनि दाउमा हानिदिन्छु । खालमा थापिदिन्छु । भएन भने यसै जाला । डिभी भरौँला र पताल भासियौँला । राष्ट्रवाद सुविधाअनुसार प्रयोग गरेर परिचय किन्ने आधुनिक बिभिषण पनि हुँ ।
माताश्री म आधुनिक सुसंस्कृत मान्छे हुँ । झर्रो विज्ञानवादी थिएँ, मैले छरेका आवेगलाई कतिले विवेक बनाएर आफैलाई डोर्याए । नाङ्गिनु पहिला क्रमशः म सुटमा टाई कस्दै टुप्पी हल्लाउँदै हिडने तिलकधारी विज्ञानवादी बन्दै गएँ । पहिला र पछिको मेरो रुप र चालामाला देखेर धेरैले गिल्ला गरे । तर मेरो मर्मभने कसैले बुझेनन् । देश अनुसारको भेष र कपाल अनुसारको केस हुनुपर्छ । अरु तपशीलका । अनेकौं हण्डर खाएको यो भूतपूर्व बिधर्मी हो, नास्तिकनै थियो । पहिलाको सक्कली नास्तिक । ती पहिलाका कुरा थिए ‘विज्ञान पढेर विचार विवेक र शुद्धिवुद्धि सबै भौतिकवादी बनेँ । रुप र व्यावहारमा कसैलाई बात लगाउने ठाँउ दिइनँ । माता चेत खुलेपछि अहिले मैले धेरै कुरा फेरेँ । अब चालचलन, आनीबानी र व्यावहारमा कहिल्यै, कतै खोट पाउनु हुनेछैन । रिसानी माफ होस् । कृपा होस् । माता.. तपाईंको मोहिनीले मलाई उद्धार गरी बक्सियोस् । नाटक गरेँ, आर्दश प्रलापले केही नापेन । म मात्र लक्ष्मीमोहबाट अछुत कसरी हुनसक्छु ! यो उत्खनन मेरो ध्याैसी, भैलो र यमपञ्चक जुवा हो ।
आँखा भएका धृतराष्ट्रलाई सुम्पेर अहिले सोच्ने मनमस्तिष्कलाई बन्धक राखेको छु । म अब आज्ञापालक मात्र हुँ । कहिँकतै कहिल्यै पनि बखेडा झिक्दिन । तर्क गर्दिन । हजुरको आशीर्वाद पाउन सोच्ने काम छोडिसकेँ। केही मेरा जोडिदारहरु पहिला टीँ, टीँ गर्दै के, के न हो झै गर्छन्, कालान्तरमा फिस्स पर्छन् । भुक्छन् भुक्दै जान्छन् र टोकौँला झै पनि गर्छन । ग्याइँग्याइँ ङुरङुर गर्छन । अन्त्यमा पुच्छर टाङमुनि लुकाएर र्याल काढ्दै मालिकको पैताला चाट्छन् । यसैलाई प्रजातन्त्र र जनवादको अभ्यास भन्छन् ।
माता पनि कति मायारूपी हुनुहुन्छ ! ती नक्कली बहादुरको सक्कली चेहरा जगलाई देखाई दिनुहुन्छ । सुविधा र द्रव्यमोहमा पसेपछि सबैको औकात देखिइहाल्छ । द्रव्यमोहमा फसाई हाल्ने माताको लिला अपरम्पार । दुनियाँको भार छ, कल्याण गर्नु छ । माता जगत जननी हुनुहुन्छ । तीनतीन लोक चौध भुवनको ख्यालराख्दा यहाँको खबर नपुग्ने कुरै भएन । अपुग खबर नारदले नारायण नारायण भन्दै पुर्याएकै होलान् । मेरा जोडिदारहरु जसरी सुख सयल त्यागेर बुद्ध बन्न सक्दैनन् म पनि कहाँ पो स्पार्टाकस बनेर ग्ल्याडिएटर बनेर शूलीमा झुन्डिन सक्छुर …माता !
म पनि कुकुर पुजा गर्ने मध्य हुँ ! माता । मैले अब समानुपातिक पर्व मनाउन बरु कुकुर्नी पुजा गर्ने जर्मको गरेको छु । कुकुर्नीको चिथोर्याइ कुकुरकोभन्दा कडा हुने कुरा अहिले झन् देखिएको छ । यो उम्दा दर्जाको प्रजातान्त्रिक अभ्यास हो । स्वान देवताकी जननी कुकर्नी । जब गाईका ख्वामित श्रीमान गाईज्यूले गोवर्धन बनेर पूजा पाउने अधिकार राख्छन् भने श्रीमती स्वानज्यूको पूजा किन नहुनी ! रिसानी माफ होस् । अहिले लक्ष्मीपूजा, गोरु पुजा, कुत्ता पूजा र कौवा पूजामा अझ नयाँ नेपालको थालनीमा एउटा अर्को टेको थप्नु छ । लैंगिक समानतामा थालनी भइसकेको याममा कुर्कुनी पूजा अजको पहिलो अजेन्डा हुनुपर्छ ।
माता ! तपाईँका भक्तमण्डली हामीहरूले जगतपालक नारायणश्रीले आएनौ दश अवतारमध्यका एउटा अवतार बराहा अवतार हो । हाम्रो धरतीमा यो जातीलाई सुँगुर, बँदेल र बगुंर भनिन्छ जे होस् नारायणश्रीकै एउटा रूप भएकोले त्यो पनि पूजाको अधिकारी हो । पूजा नपाउनु भगवान बिष्णुकै अपमान हो । समयमै यस्को पूजा गर्ने आफ्ना भक्तहरुबाट जो हो मिलाउनु पर्ला झैँ लाग्छ ।
आफ्ना ख्वामितको यो मृत्यलोकमा पूजा नभएको कसरी सहनु होला, मातेश्वरी । यसले दुईटा फाइदा गर्छ । एउटा वुद्धि, विवेक र शिद्धान्तकाे कुरा गर्ने दुनियाँलाई दिमाग खियायर मुर्ख बनाउँदै बराल्ने यहाँकी सौता सरस्वतीको औकात देखाईदिएर हर्मत काढ्ने र अर्को आफ्ना सर्मथक बढाउने । तिहारकै बिचमा ककुर, कौवा र गोरु पूजाएको बिचमा कुर्कुनी र सुगुँरको पनि पुजा हुन सके यो हिमवत खण्डमा यहाँको कृति युगयुगान्तर रहने थियो भने मेरो हैसियत पनि बढ्दो हो । नेपाली राजनीतिलाई पनि गुन लाग्ने थियो । म त यसैपनि हजुरको आशीर्वादले बिल गेटस् बन्ने छु नै ।
(लेखक नरेन्द्रजंग पिटर पत्रकार एवं राजनीतिक विश्लेषक हुन् )





















प्रतिक्रिया