Logo

अर्थ

कुमारी सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका बचतकर्ताहरु जोखिममा [भाग-२]



कुमारी सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडमा पैसा निकाल्नका लागि बचतकर्ताले हार गुहार गर्न थालेका छन् । उक्त सहकारीका अध्यक्ष तथा सिइओ सूर्यध्वज न्यौपानेको बदमासीका कारण सहकारी जोखिममा परेको छ । सहकारी जोखिममा परेपछि बचतकर्ताहरुको रोइलो सुरु भएको छ ।

उक्त सहकारीमा नियम विपरीत अध्यक्ष र सिइओ दुवै पदमा रहेका न्यौपानेले सहकारीको अधिकाँस रकम आफैले चलाएका छन् । आफूले चलाएको रकम तिर्न नसक्दा बचतकर्ताहरु जोखिममा परेका हुन् । न्यौपानेले आफ्नो व्यबसायमा गरेको लगानी घरजग्गामा फसेपछि उनी अफ्ठेरोमा परेका छन् । सहकारीले बचतकर्ताको रकम भुक्तानी गर्न नसक्दा दैनिकजसो बचतकर्ताहरु आक्रोसित भएका छन् ।

कर्जा पनि दिन नसक्ने र भुक्तानी गर्न पनि नसक्ने अबस्थामा पुगेको कुमारी सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका बिरुद्ध सहकारी विभागमा करिव एकसय बढी उजुरी परेका छन् । त्यसो त काठमाडौंमा करिव २ सय सहकारी संकटग्रस्थ अबस्थामा छन् । ठुलो र राम्रो सहकारीका रुपमा चिनिएको कुमारी सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड अध्यक्षकै कारण संकटमा परेको हो ।

काठमाडौंको चावहिलमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले थप ५ वटा सदस्य सेवा स्थापना गरी वित्तीय कारोबार संचालन गरिरहेको छ । कुमारी सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमा सूर्यध्वज न्यौपाने अध्यक्ष तथा सिइओ छन् भने उपाध्यक्ष राजु दाहाल, सचिवमा इश्वरी प्रसाद भट्टराई, कोषाध्यक्ष पुष्पराज घिमिरे तथा बोर्ड सदस्यहरुमा सकुन्तला खड्का, सरिता तामाङ र अनिता अधिकारी रहेका छन् । रु. १ अर्ब ४६ करोड १९ लाख ९३ हजार २ सय ३२ रुपैयाँ निक्षेप जम्मा गरेको सहकारीले १ अर्ब ३१ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

यस अघि संकटमा परेका सहकारीहरु पनि अध्यक्षकै कारण डुवेका हुन् । ओरेन्टीयल सहकारी, सिभिल सहकारी, गौतमश्री बहुउद्येश्यीय सहकारी, कान्तिपुर सहकारी जस्ता ठुला सहकारीहरु यस अघि नै डुबीसकेका छन् । ती सहकारीमा बचतकर्ताहरु आफ्नो रकम लिनका लागि आन्दोलीत अबस्तथामा छन् ।

पछिल्लो समय धरासायी हुँदै गएको कुमारी सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडमा पनि बचतकर्ताहरु आन्दोलीत हुनुपर्ने अबस्था सिर्जीत हुनसक्ने देखिएको छ ।

अध्यक्षले एकलौटी रुपमा कर्जा बाँडेको सहकारीका अरु संचालक र कर्मचारीको आरोप छ । सहकारीमा एक अर्ब बढी बचतकर्ताको रकम रहेको छ । अध्यक्षका आफन्त तथा नातेदारका नाममा बढी कर्जा प्रबाह भएको पाइएको बताइएको छ ।

सहकारीको प्रतिवेदनमा उल्लेख गरिए अनुसार बचतका लागि आठ हजार ३ सय ८७ जना सदस्य बनाएको सहकारीले हालसम्म जम्मा ५ सय ८२ जनालाई कर्जा उपलव्ध गराएको छ ।

पछिल्लो समय काठमाडौंका केही ठुला सहकारीमा समस्या बढ्दै गएको छ । प्राय सबै सहकारीको समस्या संचालक आफैले कर्जा प्रवाह गर्ने देखिएको छ । त्यसो त संकटमा परेका अधिकाँस सहकारीको रोग एउटै प्रकृतिको छ ।

यो पनि

कुमारी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ समस्याग्रस्त, कर्जा प्रवाह शून्य

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार १६:०३   :  बजे

9.3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।