काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ आज माघ २३ गते बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।
कम्पनीले गत माघ ९ गतेदेखि माघ १२ गतेसम्म सर्वसाधारणलाई जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँमध्ये १०० अंकित दरका कुल २१ लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता बिक्री गरेको थियो ।
त्यसमध्ये ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको थियो। बाँकी १७ लाख ४३ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
सानिमा क्यापिटलका अनुसार यो आईपीओमा १३ लाख ४ हजार २०८ आवेदकबाट कुल १ करोड ४५ लाख २७ हजार ६३० कित्ताका लागि खरिद आवेदन दिएका थिए । तीमध्ये १२ लाख ९८ हजार ६९३ आवेदकबाट परेको १ करोड ४४ लाख ४६ हजार ५६० कित्ता सेयर सदर भएको छ । बाँकी ४ हजार ५१५ आवेदकबाट परेको ८१ हजार ७० कित्ता सेयर बदर भएको छ ।
मागभन्दा बढी आवेदन परिसकेका कारण यो आईपीओको बाँडफाँट पनि गोलाप्रथाबाट गरिएको छ । जसमा भाग्यमानी १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । सदर आवेदकमध्ये ११ लाख २४ हजार ३९३ आवेदकको हात खाली भएको छ ।




















प्रतिक्रिया