Logo

अर्थ

दैनिक १० किलो सुनले बजारको माग धान्न मुस्किल : सुनचाँदी व्यवसायी



काठमाडाैँ । नेपाल राष्ट्र बैंकले दैनिक १० किलो सुन मात्र ल्याउन दिँदा बजारको माग धान्न मुस्किल भएको सुनचाँदी व्यवसायीहरूले बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले आज संयुक्त पत्रकार सम्मेलन गर्दै दैनिक १० किलो सुनको आयातले स्वदेशी माग धान्न नसकेको बताएका हुन् ।

दैनिक १० किलो सुनले बजारको एक तिहाइ माग मात्रै धान्ने व्यवसायीहरूले बताएका छन् । ‘बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारिमा र अफ सिजनको समयमा पनि: झण्डै १० देखि १५ किलोको हाराहारिमा कच्चा सुनको माग हुने गरेको भए पनि हाल दैनिक १० किलो मात्र कच्चा सुन आयात हुने गरेकोले यति सुनले आम उपभोक्ताको आवश्यकता पुरा गर्न कठीन छ।’ -व्यवसायीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

विधिवत तरिकाले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीहरुले बिना भन्सार ५० ग्रामसम्म र भन्सार तिरेर थप १०० ग्राम सुनका गरगहना ल्याउन पाउने नेपाल सरकारबाट राजपत्रमा प्रकाशित गरी सुविधाको व्यवस्था गरेको छ। यसरी आउने सुनले बजारको मागलाई केही हदसम्म भए पनि भरथेग पुर्याएको अवस्था थियो ।

तर, पछिल्लो समयमा यसरी ल्याइएका सुनका गरगहनाहरुलाई प्रहरी प्रशासनले जफत गर्ने, यस्तो सुनको कारोबार गर्ने व्यवसायीहरुलाई पक्रने, अनावश्यक दुःख दिने, मानसिक तनाव दिने जस्ता कार्य हुन थालेको व्यवसायीहरुको गुनासो छ । राज्यले तोकेको मापदण्ड अनुरुप ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने व्यवसायीलाई अपराधि जस्तो व्यवहार गर्न थालिएको उनीहरुको आरोप छ ।

सरकारले सुनका गरगहना नेपाल ल्याउँदा सम्वद्ध चेकजाँच गर्ने स्थान (भन्सारताका) मा नै त्यसको बैधता परीक्षण गर्न आवश्यक हुने उनीहरुको भनाइ छ ।

भन्सारबाट विविधत रुपमा ल्याइएका गरगहनाहरु त्यस पश्चात व्यवसायीको पसल, दोकानमा जम्मा हुँदा त्यसैलाई अवैध सम्झने, गरगहना देख्नै वित्तिकै त्यस प्रति गलत आसंका गर्ने, ब्यवसायीलाई त्रसित र आतंकित वनाउने, अनुसन्धानका ताममा अनावश्यक दुःख दिने जस्ता कार्यको उनीहरुले निन्दा गरेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १७:४२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।