काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आज चैत ८ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओका लागि छुट्याएको थियो । जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि बिक्री गरिसकेको छ ।
त्यस्तै ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
यो आईपीओको निष्कासन बन्द छिटोमा चैत १२ गते र ढिलोमा चैत २२ गते बैंकिङ समयपछि हुनेछ । सगरमाथा जलविद्युतको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।




















प्रतिक्रिया