काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र निजी दुवै उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक साधारणसभामा बोल्दै उनले मुलुकलाई समृद्धितर्फ लैजाने ठूलो जमातका रुपमा निजी क्षेत्र रहेकाले सरकारले हातेमालो गरेर अघि बढ्ने बताए ।
उद्योगमन्त्री रिजालले भने ‘निजी क्षेत्रको सहयोगबिना यो मुलुकले आर्थिक समृद्धि पाउन सक्दैन । निजी क्षेत्र र सरकार हातेमालो गरेर अघि बढ्नुपर्ने अहिलेको समयको माग छ । यसका लागि सरकार हरेक कुराको सहयोग गर्न तयार छ ।’
अहिले देखिएका समस्याबारे सरकार गम्भीर रहेको बताउनुहुँदै मन्त्री रिजालले निजी क्षेत्रलाई निरुत्साहित नहुनसमेत आग्रह गरे । ‘मुलुक चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छ । आर्थिक अवस्था त्यति राम्रो छैन । आयात निर्यातमा ठूलो अन्तर छ । उद्योगी व्यवसायी निरुत्साहित हुनुहुन्छ । उद्योग ठप्प भएका छन् । यस्ता धेरै गुनासा हामीले सुन्नु परेको छ’, उनले बताए ।
अर्थतन्त्रमा अहिले देखिएको समस्या एकैपटक आएको नभइ कोभिड महामारी, रुस युक्रेन युद्धलगायतका विश्व अर्थतन्त्रमा देखिएको समस्याका कारण सिर्जना भएको रिजालको भनाइ छ । ‘नीतिगत र प्रक्रियागत रुपमा नै धेरै समस्या छन् । वनको समस्या, भूमिसँग सम्बन्धित, सहुलियत नपाएका लगायतका समस्या छन् । अन्तरनिकाय समन्वय हुन नसक्दा विभिन्न काम अड्किने गरेका छन् । तर सुधारका लागि अब पनि पर्खेर बस्ने समय छैन’, उद्योगमन्त्री रिजालले भने ।
यस्ता समस्याबारे उद्योगी व्यवसायी बढी भुक्तभोगी रहेको पनि उनले बताए । अहिले बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र चर्को ब्याजदरको समस्या समाधानका लागि रिजालले सोही कार्यक्रमबाटै प्रधानमन्त्रीलाई आग्रहसमेत गरे ।




















प्रतिक्रिया