काठमाडौं । सरकाले देशका विभिन्न स्थानमा नयाँ शहर र स्मार्ट सिटी बनाउने घोषणा गरको दश वर्ष भैसकेको छ। सुरुमा १० वटा नयाँ शहर बनाउने भन्दै सरकारले मध्यपहाडी राजमार्गले छोएका १० स्थानलाई शहर बनाउने गरी काम सुरु गरेको थियो ।
अहिले सरकारले देशका अन्य सडकसँग जोडिएका तथा हिमाल पहाड र तराईमा सन्तुलित विकास गर्ने गरी देशभर ५४ वटा नयाँ शहर बनाउने काम सुरु गरेको छ । शहरप्रति बढ्दो बसाईँसराई रोक्न स्थानीय ठाउँको जनसङ्ख्यालाई मध्यनजर गर्दै सरकारले नयाँ शहर र स्मार्ट सिटीको अवधारणा ल्याएको हो । सबै नयाँ शहरको सरकारले एकीकृत विकास योजनाको काम गरिसकेको नयाँ शहर आयोजना समन्वय कार्यालयका प्रमुख तथा आयोजना निर्देशक एकराज अधिकारीले जानकारी दिए । सरकारले सुरुमा १० वटा नयाँ शहरका लागि पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णली, अछामको साँफेबगर र बैतडीको पाटनलाई स्थान तोकेर काम सुरु गरेको दश वर्ष बितेको छ ।
त्यस्तै सरकारले मध्यपहाडी राजमार्गसँगैका २ ठाउँ सुर्खेतको भेरिगंगा र प्यूठानको भिंग्रीलाई पनि नयाँ शहर बनाउने गरी काम अगाडि बढाएको छ । अन्य शहरमा हुलाकी राजमार्गमा जोडिएका १० वटा, तराई मधेशमा ५ वटा गरी २७ वटा नयाँ शहर बनाउने योजना अगाडि बढेर काम सुरु भएको छ । १७ वटा स्मार्ट सिटी, हिमाली क्षेत्रमा पर्यटक हिँड्ने, पुराना बाटोघाटोलाई पनि जोड्ने गरी १० हिमाली शहरहरु बनाउने काम पनि अगाडि बढेको छ । सरकारले बाराको निजगढ, गोरखाको पालुङटार, रुपन्देहीको लुम्बिनी, स्याङ्जाको वालिङ, चितवनको भरतपुर, सिराहाको मिर्चैया, रौतहटको चन्द्रपुर, दाङको तुलसीपुर, काभ्रेपलाञ्चोकको काभ्रे, दैलेखको दुल्लु, डडेलधुराको अमरगढी, कैलालीको टिकापुर, धनकुटाको धनकुटा क्षेत्रमा स्मार्ट सिटीका लागि ठाउँ छनोट गरेर काम अगाडि बढाएको छ ।
हुलाकी लोकमार्ग आसपासमा सरकारले झापाको गौरिगंगा, मोरङको रंगेली, महोत्तरीको मनरा, सर्लाहीको ब्रम्हपुरी, रौतहटको मौलापुर, बाराको महागढीमाई, नवलपरासीको बर्दघाट, बर्दियाको राजापुर, कैलालीको भजनी र कञ्चनपुरको बेलौरी भन्ने स्थानमा नयाँ शहरको परिकल्पना गरेर काम अगाडि बढाएको छ ।
हिमालमा अवस्थित सोलुखुम्बुको लुक्ला, रसुवाको स्याप्रुबेसी, मुस्ताङको जोमसोङ, हुम्लाको सिमीकोट तथा बाजुराको मार्तडी भन्ने स्थानमा नयाँ शहरको परिकल्पना गरेर काम अघि बढेको नयाँ शहर आयोजना कार्यालय इकाइले जनाएको छ । त्यस्तै ताप्लेजुङको फुलिङ, संखुवासभाको किमाथांका, मनाङको चामे, डोल्पाको दुनै र बाजुरको कोल्टी भन्ने स्थानमा पनि नयाँ शहर बनाउने काम भइरहेको छ ।
तराईको सप्तरीको सम्भुनाथ, महोत्तरीको बलवा, सर्लाहीको. इश्वरपुर, रौतहटको कटहरी र दाङको गढवा स्थानमा नयाँ शहर बन्दैछ । सरकारले धनुषा पर्सा, मोरङ, झापा, सप्तरी, चितवन, इलाम, कास्की, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली, धनकुटा, धादिङ, रामेछाप, जुम्ला, डोटी, बाग्लुङ, लुक्ला जस्ता स्थानमा शहरी विकास मन्त्रालयका कार्यालय राखेर नयाँ शहर, स्मार्ट सिटी बनाउने काम अगाडि बढाएको छ ।
यी ५० वटा स्थानमा शहर बनाउन १ खर्ब ५० अर्ब खर्च हुने सरकारको प्रारम्भिक अनुमान रहेको छ। त्यस्तै यी शहरहरु बनाउन निजी क्षेत्रले १ खर्बको योगदान गर्ने र सरकारले ५० अर्बको योगदान गर्ने प्रारम्भिक अनुमान छ ।
अहिले सरकार अस्थिर बन्दा पूर्व योजना अनुसार काम गर्न नसकिएको नयाँ शहर आयोजना समन्वय कार्यालयले जनाएको छ । यी आयोजना पूरा गर्न अहिले दक्ष जनशक्तिको पनि अभाव रहेको नयाँ शहर आयोजना समन्वय कार्यालयका प्रमुख एकराज अधिकारीले जानकारी दिए । सरकारले नयाँ शहर निर्माणमा सामाजिक, आर्थिक र भौतिक विकासको काम अगाडि बढाएको छ ।
अहिले सरकारले १० वर्षभन्दा अघि घोषणा गरेका मध्यपहाडी राजमार्ग आसपासका १० नयाँ शहरका लागि सडक निर्माण, खानेपानी, फोहोर प्रशोधन केन्द्र, मनोरञ्जन पार्क, बसपार्क, सडक निर्माण, जग्गा एकीकरण आयोजनाको काम भइरहेको छ । काम भने सुस्त गतिमा अगाडि बढेको प्रमुख अधिकारीले बताएका छन् ।




















प्रतिक्रिया