Logo

अर्थ

एनएमबि बैंकले कमायो २ अर्ब ६८ करोड नाफा



काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अवधिसम्म बैंकको नाफामा झिनो वृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको खुद नाफा ०.६५ प्रतिशत बढेर २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४७ प्रतिशत बढेर ६ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफामा दबाब पुगेको हो ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २६.८२ प्रतिशत बढेर ८ अर्ब ६ करोड ४१ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट बढेर २.९६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब १८ करोड पुगेको छ ।

बैंकको सञ्चालन मुनाफा १.१९ प्रतिशतले मात्र वृद्धि भएको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि थोरै बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ पैसा बढेर १९ रुपैयाँ ४७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.०७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ २ पैसा रहेको छ ।

चुक्ता पूँजी १८ अर्ब ३६ करोड रहेको छ यस बैंकको जगेडा कोषमा ९ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १३:४७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।