Logo

अर्थ

नयाँ शहर आयाेजनामा बेरुजुको चाङ : पेश्कीमै १७ करोड, झण्डै डेढ करोड असुल गर्नुपर्ने



काठमाडौं । सरकारले निर्माण सुरु गरेको दश नयाँ शहर आयोजनामा बेरुजुको थुप्रो लागेको छ । कुल ३१ करोड भन्दा बढी बजेट बेरुजु देखिएको छ ।

नयाँ शहर निर्माणका लागि पेश्कीमा मात्रै १७ करोडभन्दा बढी रकम बेरुजु रहेको स्रोतबाट अनलाइनपानाले पुष्टि गरेको छ । २०७९/०८० को प्रतिवेदनमा नयाँ शहर आयोजना समन्वय कार्यालयको बेरुजु रकम ४ करोडभन्दा माथि रहेको छ । अहिलेसम्म १० नयाँ शहर निर्माण गर्नका लागि सरकारले ३ अर्ब १० करोडभन्दा बढी खर्च गरिसकेको छ । आर्थिक वर्ष २०७०/०७१ मा २० करोड १२ लाखभन्दा बढी रकमबाट नयाँ शहरको काम सुरु भएको थियो ।

१० नयाँ शहर आयाेजनामा ३१ करोड ८ लाख ३३ हजार १ सय ७८ रुपैयाँ बेरुजु रहेको छ । बेरुजुमा १ करोड ३१ लाख रुपैयाँ असुल गर्नुपर्ने रकम रहेको छ । ५ करोड ७० लाख ४० हजारभन्दा बढी रकम अनियमित भएको शिर्षकमा राखिएको छ । वर्षैपिच्छे यो रकम बढी रहेको छ । त्यस्तै प्रमाण पेश नभएको शिर्षकमा ६ करोड १८ लाखभन्दा बढी बजेट बेरुजु देखाइएको छ । पेश्की शिर्षकमा १७ करोड ८८ लाखभन्दा बढी बेरुजु छ । बेरुजु फर्छ्याेट भने शून्य छ ।

बिना योजनाका नयाँ शहरमा बजेटको बाढी, प्रगति भने कमजोर

सरकालेले १० वटा नयाँ शहरका लागि पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णली, अछामको साँफेबगर र बैतडीको पाटनलाई स्थान तोकेर काम सुरु गरेको दश वर्ष बितेको छ ।

नयाँ शहर आयोजना पाँचथरको फिदिमका लागि यो वर्ष १६ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ । त्यस्तै यो बजेटमध्ये १५ करोड २३ लाख रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । त्यस्तै नयाँ शहर आयोजना तेह्रथुमको बसन्तपुरका लागि यो वर्ष सात करोड ६९ लाखभन्दा बढी बजेट विनियोजना भएकोमा ७ करोड ३६ लाख रुयैयाँ खर्च भएको देखाइएको छ ।

सिन्धुलीको खुर्कोट नयाँ शहरका लागि यो वर्ष ८ करोड पाँच लाख रुपैयाँ बजेट विनियोजना भएकोमा ६ करोड ८७ लाख रुयैयाँ खर्च भइसकेको छ । धादिङको बैरेनी गल्छिको लागि यो वर्ष १३ करोडभन्दा केही बढी बजेट विनियोजन भएको छ । त्यसमा ११ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको कार्यालयले जनाएको छ ।

तनहुँको डुम्रे भन्सारमा यो वर्ष १४ करोड ५३ लाखको बजेट विनियोजना भएको छ । त्यसमा १३ करोड ४९ लाख रुपैयाँ बजेट खर्च भइसकेको कार्यालयले जनाएको छ । बाग्लुङ बुर्तिवाङ नयाँ शहर आयोजनाका लागि ६ करोड ७३ लाख रुयैयाँ बजेट विनियोजन भएकोमा ६ करोड ३१ लख रुपैयाँ खर्च भएको कार्यलयले जनाएको छ ।

रुकुमको चौरजहारीमा १४ करोडभन्दा बढीका बजेट गएकोमा १२ करोड ४९ लाख रुयैयाँ खर्च भइसकेको कार्यालयले जनाएको छ । दैलेखको राकम कर्णली नयाँ शहर आयोजनाका लागि ६ करोड ८ लाख रुयैयाँ बजेट विनियोजन भएकोमा ४ करोड ९५ लाख रुयैयाँ बजेट खर्च भइसकेको छ । त्यस्तै बैतडीको पाटन नयाँ शहरका लागि ८ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ भने ७ करोड ९८ लाख रुपैयाँ खर्च भएको कार्यलयले जनाएको छ । अछामको साँझेबगरका लागि ११ करोड २५ लाख बजेट विनियोजन भइसकेकोमा ९ करोड खर्च भइसकेको कार्यालयले जनाएको छ ।

अहिलेसम्म ३ अर्ब १० करोड बराबरको बजेट १० नयाँ शहर आयोजनाको समन्वय गर्ने कार्यालय बबरमहलमा मात्रै गएको छ। तर त्यो बजेट बराबरको प्रगति विवरण भने पाइएको छैन । कर्मचारीको फेरबदल भइरहनाले पनि तोकिएको प्रगति विवरण पूरा नभएको तथा बेरुजु बढेको कर्मचारीहरु बताउँछन् । अवस्था पनि त्यस्तै रहेको छ। अहिलेसम्म नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहलमा मात्रै १३ जना प्रमुखहरुले जिम्मेवारी सम्हालीसकेका छन् ।

नयाँ शहर आयोजनामा बेरुजुको अवस्था

नयाँ शहर आयोजना समन्वय कार्यालयमा मात्रै ४ करोड रुपैयाँ बराबरको बेरुजु देखिएको छ । पाँचथरको फिदिम नयाँ शहर कार्यालयको बेरुजु १ करोड ४२ लाखभन्दा बढी छ । बसन्तपुर तेह्रथुमको बेरुजु १ करोड ३७ लाखभन्दा बढी रहेको छ । नयाँ शहर खुर्कोट सिन्धुलीको बेरुजु २ करोड ५२ लाख लाखभन्दा बढी खर्च भएको छ ।

१० नयाँ शहरकाे बेरुजु अवस्था

नयाँ शहर आयोजना गल्छि, धादिङको बेरुजु भने २ करोड ८६ लाख रहेको छ । नयाँ शहर आयोजना डुम्रे भन्सारको बेरुजु पनि ४ करोभन्दा बढी रहेको छ। नयाँ शहर आयोजना बुर्तिवाङ बाग्लुङ नयाँ शहरको बेरुजु ३ करोड १५ लाखभन्दा बढी रहेको छ । चौराजहारी नयाँ शहर आयोजनाको बेरुजु ५ करोड ३७ लाखभन्दा बढी रहेको छ ।

राकस कर्णालीको बेरुजु भने १६ लाख ४० हजार रहेको छ । नयाँ शहर आयोजना साँफेबगरको बेरुजु ३ करोड ६४ लाख रहेको छ । त्यस्तै पाटन बैतडीको बेरुजु १ करोड ८६ लाख रहेको छ । बेरुजु बढ्दा आर्थिक अनुशासन घटिरहेको छ। बेरुजुले भ्रष्ट्राचार बढाएको छ ।

याे पनि पढ्नुहाेस्

नयाँ निर्माण हुने शहर अहिलेका भन्दा कूरुप हुने विज्ञको चेतावनी

कहाँ कहाँ बन्दैछन् नयाँ शहर र स्मार्ट सिटी ?

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १५:४६   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।