Logo

अनलाइनपाना खोज

अन्ततः झुक्न बाध्य भए सीईओ रोशन न्यौपाने, भत्कियो सार्वजनिक जग्गामा ठड्याएका आलिसान महल (भिडियो)



काठमाडौं । नेपाली समाजमा एउटा उखान चर्चित छ ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ यो उखान एनआइसी एसिया बैंकका सीईओ रोशनकुमार न्यौपानेको वर्तमान अवस्थासँग ठ्याक्कै मेल खान पुगेको छ । लाखौं ग्राहक तथा कयौं ऋणीहरुलाई अनेक बहनामा सुकुम्वासी बनाउने, ऋणीको अर्बौं सम्पत्तिसहित इज्जतसमेत क्षणभरमै लिलाम गर्न पछि नपर्ने, किस्ता उठाउने बहानामा गुण्डागर्दी शैलीमा घरभित्रै सुरक्षागार्ड पठाउने, मारवाडी रिझाउनकै लागि मानवीय संवेदनासमेत भुलेका सीईओ न्यौपानेको बसिरहेको घर धमाधम भत्काउन परेपछि ‘भुइँको टिप्न खोज्दा पोल्टाको समेत खस्यो’ भन्ने वाक्यांशसँग मेल खान गएको छ ।

सरकारी जग्गा हडपेर आलिसान महल ठड्याएका एनआइसी एशिया बैंकका सीइओ रोशन न्यौपानेले अन्ततः सरकारी जग्गामा बनाएको घर भत्काएका छन् । न्यौपानेले बूढानिलकण्ठ नगरपालिका वडा नं २ को सरकारी जग्गा हडपेर आलिशान घर र शानदार बगैंचा बनाएको विषयमा अनलाइनपानाले यसअघि निरन्तर समाचार सम्प्रेषण गरेको थियो ।समाचारको दबाबकै कारण न्यौपानेले घर त भत्काएका छन् घरले चर्चेको पछिल्लो पटक समेत गरेर एक रोपनी बराबरको सरकारी जग्गा फिर्ता गरेका छन् ।

बूढानिलकण्ठ नगरपालिका वडा नं २का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार मिडियाको दबाबकै कारण सीइओ न्यौपानेले आइतवारबाट घरसमेत भत्काउन थालेका हुन् । उनी भन्छन्–‘अझ हामी थप उनको घरभित्र पर्ने लगभग ३ आना जती जग्गा छुटाउन लागिरहेका छौं, धन्यवाद तपाईहरुको समाचारले हामीलाई अतिक्रमित जग्गा फिर्ता ल्याउन सहज भयो। हामीले उनको घर रहेको स्थान र वरपरका सार्वजनिक जग्गाको नापजाँच गरेका थियौं जसमा उनको घरको आधा हिस्सा जाने देखिएपछि हामीले मालपोत कार्यालय प्रमुख देवीबहादुर भण्डारीलाई यसअघिनै जानकारी गराइसकेका थियौं,’उनले थपे ।

त्यस्तै यसअघि अनलाइनपानाको टोलीले प्राविधिकको सहयोगमा उक्त घर भएको स्थानको डिजिटल प्रविधिमार्फत नापजाँच गरेको थियो जसमा सीइओ न्यौपानेृले फिल्डमा जग्गा अतिक्रमण गरेको प्रष्ट देखिन्थ्यो तर उनले हालसाविक गरेर नक्शामा पार्न भने भ्याएका थिएनन् ।

पद र पहुँचमा रहेका सीइओ न्यौपानेको प्रभावमा मालपोत कार्यालय र नापी कार्यालय समेत परेको थियो ।हामीले पटकपटक ति कार्यालयहरुसँग पछिल्लो नापीको कागज माग गर्दा दिननमिल्ने बताइरहेका थिए ।सीइओ न्यौपानेले बूढानिलकण्ठ नगरपालिकामा पर्ने साबिकको भंगालपञ्जिटोलमा पर्ने सरकारी कित्ता नंम्वर ७१ बाट करिव १ रोपनी जग्गा कब्जा गरेर निजी बनाएको तथ्य हामीले सार्वजनिक गरेका थियौँ। हामीले प्राप्त गरेको पुरानो नक्शा साबिकको चपली गाविस वडा नं ‘ख’ अनुसार ७१ नम्वरको सरकारी जग्गा कित्ताकाट गरेर हालको कित्ता नम्वर १५ बनाएर निजीकरण गरेको प्रष्ट देखिन्थ्यो ।

न्यौपानेले हामीले प्रशारण गरेको अघिल्लो समाचारपछि एक चरणमा थोरै मात्र सरकारी जग्गा छाडेर नयाँ कम्पाउण्ड सारेका थिए । त्यसपछिको हाम्रो थप फलोअप समाचारका कारण वडा, पालिका, मालपोत, नापी हुँदै उनीसम्म दबाब पुगेको थियो । जुन दबाबले काम गरेको देखिन्थ्यो आइतवार ,हामी उनको घरमा पुग्दा, धमाधम ३ महिनाअघि भत्काएर नयाँ बनाइएको वाल सहित घरको एक भाग धमाधम भत्काउँदै थिए । श्रमिकहरु काम गरिरहेका दृश्यमा देखिन्छ ।वाल भत्काएपछि निस्केका सामग्री छरिएका थिए ।भत्काउन लागेको संरचनालाई हरियो पर्दाले छोपिएको थियो ।

स्थानीय एक बृद्धका अनुसार न्यौपानेले आफ्ना ससुरा भोला पनेरुका बलमा सरकारी पर्ति जग्गा अतिक्रमण गरेका थिए । उनका अनुसार न्यौपानेका ससुरा मालपोतकै वरिष्ठ कर्मचारी थिए । मालपोतकै कर्मचारी भएका कारण न्यौपानेलाई सरकारी जग्गा पहिल्याउन र हत्याउन सहज भएको हो । न्यौपानेको घरभित्र पर्ने ३ आना जग्गा थप छुटाउन सकिए करिव १९ आना बराबर सरकारी जग्गा साबिकको अवस्थामा ल्याउन सकिने बूढानिलकण्ठ नगरपालिका २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ बताउँछन् ।

कयौं ऋणीहरुको अर्बौंको सम्पत्ति क्षणभरमै हडप्न सफल भएका बैंकका सीइओ न्यौपाने सरकारी सम्पत्ति कब्जा गर्ने मामिलामा भने असफल भएका छन् । सीइओ न्यौपानेले पैसा पावर र पहुँचको आडमा दम्भ देखाउँदै स्थानीय तहदेखि मालपोत कार्यालय नापी कार्यालय र जिल्ला प्रशासन कार्यालयसम्मलाई प्रभावमा पारेर आफ्ना गैरकानूनी हर्कतहरु लुकाउने प्रयास गरेका थिए । सोही क्रममा एनआइसीकै एक उच्च पदस्थ कर्मचारी मार्फत मालपोत कार्यालय र नापी कार्यालयमा कागजपत्र मिलाउने प्रयास पनि गरे तथापी हामीले निरन्तर उनलाई फलो गरिरह्यौँ ।

यस बीचमा अनलाइनपानालाई सीइओ नजिकका विभिन्न व्यक्ति मार्फत धम्की दिने, प्रलोभनमा पार्नेदेखि मुद्दा हालेर कलम बन्द गराउनेसम्मका प्रयास भए । तर हाम्रो सत्य तथ्य र निश्पक्ष समाचार सम्प्रेषण गर्ने निर्भिकताका अगाडि उनको केही चलेन अन्ततः उनी आत्मालोचना गर्दै आफ्नो गल्ती सँच्याउन बाध्य भएका हुन् । यस अघि पनि पटकपटक संरचना भत्काउँदै आएका सीइओले आफ्नो घरको कति हिस्सा सरकारी जग्गामा परेको छ र कति छाड्नपर्ने हो भन्ने विषयमा समेत हेक्का नराखेको पाइन्छ । त्यसहिसावले यस पटक पनि कति जग्गा छाड्ने गरी संरचना भत्काउन लागेका हुन् उनको खराव नियतमाथि अझैं आशंका कायमै छ । सीइओ न्यौपानेले सरकारी जग्गामा बनाएको अनधिकृत संरचनाको थप फलोअपसहितको समाचार सामग्री अर्को श्रृंखलामा उजागर गर्नेछौं ।

यो पनि पढ्नुहोस्

एनआईसी एशियाका सीईओ न्यौपानले सरकारी जग्गामा ठड्याएका बंगला प्रकरण : को के भन्छन् ?

अनलाइनपाना समाचार प्रभाव–सरकारी जग्गा हडपेका एनआइसी बैंकका सीइओले भत्काए घर, छाडे एक रोपनी जग्गा

सरकारी जग्गामा बनेको सीईओ न्यौपानेको घर हटाउँदै स्थानीय सरकार, जिल्ला प्रशासनले सहयोग गर्ने

सरकारी जग्गामा एनआईसी एशियाका सीईओ न्यौपानेको आलिसान महल, राज्य मुकदर्शक (भिडियो)

 

 

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार ०९:२२   :  बजे

40.4K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।