काठमाडौँ । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । रिपोर्ट अनुसार बैंकहरुको निष्कृय कर्जा दर (एनपीएल) समग्रमा १ सय २०% ले बढेको छ । समग्रमा अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १.२२% रहेको एनपीएल अहिले बढेर २.६९% पुगेको हो । रिपोर्ट अनुसार सबै बैंकहरुको एनपीएल बढेको छ । तर मर्जरमा गएका बैंकहरुको भने एनपीएल अत्याधिक मात्रामा बढेको देख्न सकिन्छ । अझ त्यसमा पनि एउटै सीईओले मर्जर पछि पनि तेस्रो कार्यकालका लागि लीड गरिरहेको बैंकहरुमा थप निष्कृय कर्जा बढेको देखिएको छ ।
गत आर्थिक वर्षको वित्तिय विवरण अनुरुप सिभिल बैंकसँग मर्जरमा गएको हिमालयन बैंकको निष्कृय कर्जा (एनपीएल) धेरै छ । बैंकको एनपीएल ४.५७% पुगेको छ । जवकि अघिल्लो वर्ष यो दर १.५९% थियो । प्रतिशतका हिसावले यो अघिल्लो वर्षको तुलनामा १८७.४२ प्रतिशत हो । हिमालयन बैंकमा लगातार तेस्रो कार्यकालका लागि सीईओका रुपमा अशोक राणा छन् ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि निष्कृय कर्जा दर १.४९% बाट बढेर ४.३५% पुगेको छ । मेगा बैंकलाई आफुसँगै गाभेको यो बैंकको एनपीएल १९१.९५ प्रतिशतले वृद्धि भएको हो । मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा पनि तेस्रो कार्यकालका लागि ज्योतिप्रकाश पाँडे सीईओका रुपमा छन् ।
त्यस्तै, सेन्चुरीलाई गाभेको प्रभु बैंकको पनि एनपीएल १.८६ प्रतिशतबाट बढेर ४.१६प्रतिशत पुगेको छ । प्रतिशतका हिसावले हेर्दा अघिल्लो वर्षको तुलनामा यो १सय २३.६६ प्रतिशतले बढेको हो । प्रभु बैंकमा पनि तेस्रो कार्यकालका लागि अशोक शेरचननै सीईओका रुपमा कार्यरत छन् ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सुदृढ र मजबुत बनाउने हिसाबले ल्याएको मर्जर नीति र त्यसकै सुविधामा रहेर सीईओ बनिरहेका बैंकहरुको तुलनात्मक रुपमा निष्कृय कर्जा बढेको र वित्तीय अवस्था पनि नाजुक देखिएको हो । आम्दानी गरेको रकम सबै प्रोभिजन गर्दा यी बैंकहरुको वितरणयोग्य मुनाफा पनि अरु बैंकको तुलनामा कम पाइएको हो । यद्यपि, तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष सबै बैंकहरुको एनपीएल भने बढेको नै छ ।
बैंकमा एकै सीईओकोे निरन्तरता हुँदा उसले लिने निर्णयका कारण पनि बैंकको निष्कृय कर्जाको मात्रा बढ्न सक्ने बैंकिङ क्षेत्रका जानकारहरु बताउँछन् । जानकारहरुका अनुसार पुरानो सीईओको ठाउँमा नयाँ सीईओ आउँदा एकै व्यक्ति वा अघिल्लो सीईओले आफ्नो इन्ट्रेस्टमा दिएका लोनलाई निरन्तरता नदिने या त्यस्ता क्षेत्रमा लगानी घटाउने सम्भावना हुने हुँदा तुलनात्मक रुपमा निष्कृय कर्जा घट्न जाने देखिन्छ । जबकि एकै सीईओको निरन्तरताले भने यी कुराहरुलाई बढावा दिने हुँदा निष्कृय कर्जा बढ्ने हुन्छ ।
नेपाल राष्ट्र बैकका आर्थिक अनुसन्धान विभागका प्रमुख प्रकाश कुमार श्रेष्ठ उल्लेखित बैंकहरुको एनपीएल उच्च दरमा बढ्नुमा सिधै सीईओकै कमजोरी भनिहाल्नु भन्दापनि आफुभन्दा कमजोर बैंकसँग मर्जर गर्नु मूख्य कारण हुनसक्ने बताउँछन् । श्रेष्ठ भन्छन्–‘साना र कमजोर बैंकहरुसँग यी बैंकहरु भर्खरै मर्जरमा गए, त्यसैको स्ट्रेस पनि हुनसक्छ अर्को एकै सीईओको कार्यकाल लम्बिइरहनु पनि अर्को सम्भावित कारण हुनसक्छ ।’
त्यस्तै अर्थविद् नरबहादुर थापा पनि बैंकमा एउटै सीईओको निरन्तरताले निर्णय एकै प्रकृतिको हुने र केही हदसम्म एकै व्यक्ति वा उस्तै पोर्टफोलियोमा कर्जा लगानी हुनसक्ने कारण निष्कृय कर्जा बढ्न जाने स्विकार गर्छन् ।गत आर्थिक वर्ष बैंकहरुको एनपीएल बढ्नुमा नयाँ कर्जा परिचालन नहनु पनि अर्को मूख्य कारण रहेको थापाको भनाई छ । त्यसो त आर्थिक मन्दीले समग्र अर्थतन्त्र संकुचित बन्न पुग्दा मागमा आएको कमीले पछिल्लो समय बैंकहरुले कर्जा बढाउन सकेका छैनन् ।





















प्रतिक्रिया