विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् । प्रदेशमा थप ४ मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त भएका हुन् । यसअघि ४ मन्त्री र १ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी थियो । अन्तिम समयमा १ जना राज्यमन्त्री थपिएको हो ।
कोशीमा कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री नियुक्त भएका छन् । सुनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि, तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै कांग्रेसकी इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री नियुक्त गरिएको छ ।
यस्तै माओवादीबाट संखुवासभाका राजेन्द्र कार्कीले सामाजिक विकास र उदयपुरका नारायण बुर्जामगरले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । कार्की यसअघि पनि उद्धव थापा नेतृत्वको सरकारमा विनाविभागीयमन्त्री भएका थिए । मगर भने दोस्रो पटक प्रदेश सांसद निर्वाचित हुँदा पनि मन्त्री बन्नबाट वञ्चित थिए ।
वर्तमान सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु मन्त्री छन् ।
६ जना थपिएपछि मन्त्रीपरिषद् १० सदस्यीय भएको छ ।




















प्रतिक्रिया