काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकमा आगामी चुनावमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने सांगठनिक प्रतिवेदनमा प्रस्ताव तयार पारेका छन्।
पार्टी सभापति शेरबहादुर देउवासहित केही नेता थापाको उक्त प्रस्तावको विपक्षमा थिए। देउवासहित केही नेताले प्रतिवेदन ‘सच्याउन’ दवाव दिइरहेका थिए। तर, थापा दवावसामू गलेनन्।
अहिलेको सत्ता गठबन्धनका दलहरूलाई बिच्काउन नहुने संस्थापन पक्षका नेताहरूको भनाइ रहे पनि थापा आफ्नो एजेण्डाबाट टसको मस नभएपछि सभापति देउवाले उनको एजेण्डामा सहमति जनाएका छन्।
आफूले प्रस्तावमा राखेका विषय पार्टी हितविरुद्धमै हुन्छन् भने महासमिति बैठकबाट अस्वीकृत गरिदिन थापाले चुनौति दिएका थिए। महासमितिले अस्वीकार गरेमा मात्र यो कुरा आफूलाई स्वीकार्य हुने उनले बताएका थिए।
महामन्त्री थापा आफ्नो निर्णयबाट पछि नहट्ने देखिएपछि सोमबार बेलुकातिर पार्टीका पदाधिकारीहरू र पूर्व पदाधिकारीहरूलाई बूढानीलकण्ठमा बोलाइयो। बैठकमा थापाको प्रस्ताव सच्याउन लगाउने प्रमुख उद्देश्य भए पनि त्यो सफल हुन सकेन।
बैठकको सुरुमै संस्थापन पक्षबाट पार्टीमा सभापति र महामन्त्रीले आआफ्नो धारणा राख्नेका थिए। बैठकमा थापा टसमस नभएपछि केन्द्रीय समिति बैठकमा चुनाव गराउने विषय उठ्यो। त्यसमा महामन्त्री थापा सहमत भए। तर, आफ्नो एजेण्डाबाट पछि हट्न तयार भएनन्।
मंगलबार बिहान ८ बजे केन्द्रीय समिति बैठक बस्ने र त्यसमा भोटिङ गर्न महामन्त्री तयार भएपछि सभापति देउवा थप समस्यामा परे। यद्यपी चुनाव हुँदा सभापतिको धारणाले जित्ने निश्चित थियो। तर, त्यो प्रस्ताव संस्थापन पक्षले थापालाई तर्साउन मात्र राखेको थियो।
सभापति देउवाले प्रतिवेदनमा रहेको ‘रुखमा मात्र मत हाल्ने छौँ’ भन्ने लाइन हटाउन थापालाई आग्रह गरेका थिए। थापा उक्त लाइन हटाउन पनि महामन्त्री तयार भएनन्।
महामन्त्रीले कांग्रेसलाई मत रुखमा मात्र हाल भन्ने कुरा लेख्न किन डराउने भनेपछि सभापतिले हुन्छ भन्दै महामन्त्रीको प्रस्तावमा सहमति जनाएको बताइएको छ।
महामन्त्री थापाको प्रस्तावमा देउवाले सहमति जनाएपछि उपसभापति पूर्णबहादुर खड्का, पार्टी प्रवक्ता प्रकाशशरण महतसहितका नेता हच्किएका थिए। उनीहरूलाई देउवाले नै सम्झाएका थिए। देउवा सहमत भएसँगै अब महासमिति बैठकमा थापाको प्रस्ताव पेस हुने भएको छ।




















प्रतिक्रिया