काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नमर्दासम्म उथलपुथल भइराख्ने दाबी गरेका छन् ।
सोमबार शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको पनि बताए ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले यसलाई नयाँ उथलपुथल भएको बताए । उनले भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।’
माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले निरन्तरतामा क्रम भंग गरेको उनको भनाइ छ । घेरा हालेर सिध्याउने कोशिश भएपनि त्यसलाई तोड्दै आएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म नर्मदासम्म देशमा उथलपुथल भइराख्छ ।’




















प्रतिक्रिया