Logo

राजनीति

कांग्रेस महामन्त्री थापाको ‘संवाद यात्रा’ चैत १५ बाट पुनः सुरु हुने



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु हुने भएको छ । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार (१५ चैत) बाट सुरु गर्न लागिएको हो ।

१३ माघबाट झापाबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो । स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री थापाले संवाद यात्रा गरेका थिए ।

नवलपरासीको गोपीगञ्जबाट रोकिएको यात्रा त्यहीँबाट पुनः सुरु गर्ने महामन्त्री थापाको भनाइ छ । नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा संवाद यात्रा गर्ने तयारी रहेको महामन्त्री थापाको सचिवालयले जनाएको छ । संसद बैठक माघ १८ गते भएकाले संवाद यात्रा सो अघि नै सक्ने कार्यतालिका छ ।

कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान पनि बुढाथोकीको निधनका कारण रोकिएको छ । माघ १६ गते सुरु १० दिने अभियानबारे कांग्रेसले केही निर्णय गरेको छैन ।

खुला र समूहगत छलफल, निर्दिष्ट भेटघाट, सेवा प्रवाहको अवस्था, अवलोकन भ्रमण लगायत माध्यमबाट नागरिकसँग संवाद गर्ने गरी पार्टीले ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार ११:५९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।