काठमाडौँ । लगातारको वर्षाले देशैभर वितण्डा मच्चाएको छ। शुक्रबार साँझबाट देशका सबैजसो जिल्लामा वर्षा हुने क्रम झन् बढेको थियो ।
वर्षाले सिर्जना भएको बाढी, पहिरो र डुबानले देशैभर व्यापक मात्रामा जनधनको क्षति पुगेको छ। नेपाल प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा मात्रै नाैं जनाको ज्यान गएको छ। यस्तै ६ जना वेपत्ता छन् भने दर्जनौं घाइते भएका छन् ।
प्रहरी प्रधान कार्यालयका सहप्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार मृत्यु हुनेमा तीन जना स्याङ्जा, दुई जना पर्वत, एकजना दाङ, दुई जना काभ्रे र एकजना काठमाडौंका छन् । वेपत्ता हुनेहरूमा दुईजना दाङ, तीन जना तनहुँ र एकजना दोलखाका छन् । यद्यपि यो संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ ।
यस्तै काठमाडौं उपत्यकालगायत देशभरका अधिकांश ठाउँका बस्तीमा बाढी पसेर डुबानका घटना भएका छन् । जसबाट ठूलो धनमालमा नोक्सानी पुगेको छ ।
यस्तै देशभकार ४० देखि ५० ठाउँका राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–६ लामाखेतमा पहिरोले पुरिएर तीनजना वृद्धवृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा विरुवा–६ माझकोटकी ६७ वर्षीया हरिमाया शर्मा, ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्मा रहेका छन् ।
मृतकहरूको माझकोटको घर जोखिममा रहेको ठानेर लामाखेतस्थित ईश्वरी लम्सालको घरमा सारिएको थियो। सोही ठाउँमा पनि दिउँसो अकस्मात पहिरो आउँदा उनीहरू पुरिएका। सोही पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो ।
उक्त पहिरोमा परी पाँच जना घाइते भएका छन्। उता पर्वतमाको फलेबास नगरपालिका–१ कार्कीनेटा टिमुरबोटमा पहिरोले घरगोठ बगाउँदा दुईजनाको मृत्यु भएको छ ।
दिउँसो आएको पहिरोले कुलबहादुर उपाध्यायको घर बगाउँदा फलेबास–१ कै ४० वर्षिय झलकप्रसाद शर्मा पौडेल र आँधीखोला गाउँपालिका–३ घोरढुंगाका ३३ वर्षिय तुलसीप्रसाद शर्मा वेपत्ता भएका थिए । पछि खोजी गर्दा झलकप्रसादको शव आँधीखोला–४ सेपथमा र तुलसीरामको शव नजिकै पहिरोमा भेटिएको प्रहरीले जनाएको छ ।





















प्रतिक्रिया