Logo

अर्थ

एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : परराष्ट्रमन्त्री



काठमाडाैं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले (आर्टिफिसियल इन्टेलिजेन्स) एआइको प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गरिनुपर्ने बताएकी छिन् ।

कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलगको आजदेखि सुरु सम्मेलन अन्तर्गत आयोजित एसिडी बिजनेस फोरमलाई सम्बोधन गर्दै मन्त्री डा राणाले भनिन् “अबको युगमा एआइलाई पछि छोडेर अघि बढ्न सकिँदैन, त्यसैले यसलाई मर्यादित रुपमा मानवहितमा प्रयोग गर्नुपर्दछ ।”

उन विश्व शान्ति, स्थिरता र समृद्धिका लागि एआइलाई सकारात्मक र सिर्जनात्मक साधनका रुपमा अँगाल्नुपर्ने धारणा पनि राखिन् ।

सो विजनेस समिटको ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड न्यु बिजनेस मोडल’ विषयक सत्रमा उनले भनिन् “आजको जटिल र प्रतिस्पर्धात्मक विश्वमा एआइ एक प्रकारको ‘गेम चेञ्जर’का रुपमा आएको छ । यसको दुरुपयोग नभई सिर्जनात्मक प्रयोगबाट लाभ लिन सक्नुपर्छ ।”

मन्त्री डा राणाले एआइ अब कुनै एक प्रविधि अर्थात् प्राविधिक उपकरण मात्र सीमित नभएर मानवीय जीवनमा आवश्यक शिक्षा, स्वास्थ्य, सुशासन, आर्थिक विकास तथा सुरक्षा लगायतका लागि पनि प्रभावकारी साधन बनेको बताइन् ।

यो प्रविधिलाई देशको व्यापारिक तथा कर्पाेरेट क्षेत्रले पनि आफ्ना व्यापारिक एवं व्यावसायिक प्रवर्धनका लागि प्रयोग गर्नसक्ने उनको सुझाव थियो ।

कर्पोरेट क्षेत्रका डाटाको प्रयोग र विश्लेषण एवं आफ्ना उत्पादन र सेवाहरूको विस्तारमा एआइले सहयोग पुर्याउने उनले बताइन् ।

मन्त्री डा राणाले यो प्रविधिको प्रयोगबाट लाभ पुग्ने भएपनि यसका जोखिम र चुनौतीहरू पनि बिर्सन नहुने तर्क गरे ।

नेपाल वर्तमान संविधान जारी भएसँगै दिगो शान्ति, स्थिरता र समृद्धिको नयाँ युगमा प्रवेश गरेको भन्दै मन्त्री डा राणाले नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई आह्वान पनि गरिन् ।

उनले भने “नेपालमा लगानीको अनुकूल वातावरण निर्माण गर्न आवश्यक कानुनहरु पनि परिमार्जन गरेका छौँ । नेपाल सरकारले ऊर्जा, उत्पादन, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषिलाई लगानीका प्रमुख प्राथमिकतामा राखेको छ । एआइ पनि नेपालमा लगानीको एक नयाँ क्षेत्र बन्न सक्छ ।”

सो बिजनेस समिटमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घमा आबद्ध नेपाली उद्योगी तथा व्यवसायीहरुसँग समन्वय गरी नेपालमा लगानीगर्न उनले विश्वका लगानीकर्ताहरुलाई आग्रह गरिन् ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार १०:२५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।