काठमाडौँ । भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरकाअनुसार टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त टिकटकले स्वीकारेको छ । टिकटकमार्फत हुने साइबर अपराध नियन्त्रणमा सघाउन पुर्याउन समेत टिकटक तयार भएपछि दर्ता भएको हो ।
सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका बमोजिम टिकटक दर्ता भएको मन्त्रालयले जनाएको छ ।
यसअघि अश्लीलता फैलाएको भन्दै २०८० कात्तिक २७ मा सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो । तर, गत भदौ ६ गते मात्रै टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको थियो ।
आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट पनि राजस्व पनि संकलन गर्ने बाटो खुला भएको छ । अब सरकारले टिकटकमा आपत्तिजनक कन्टेन्ट केही आएमा तत्काल नै पत्राचार गरेर हटाउन निर्देशन दिन सक्नेछ ।
योसँगै सरकारले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स लगायतका सामाजिक सञ्जालको माउ कम्पनी मेटालाई पनि नेपालमा दर्ता हुन आह्वान गर्दै पात्राचार गरेको छ । सामाजिक सञ्जाल एक्स (ट्विटर)लाई पनि यस्तो पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताए ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०का व्यवस्था र टिकटकले नेपालमा दर्ता हुँदा पालना गरेका शर्तलाई जानकारी दिंदै अनुरोधपत्र लेखिएको उनले बताए ।
हाललाई टिकटकको सिंगापुरस्थित कार्यालयले नेपाल हेर्ने बताइएको छ ।





















प्रतिक्रिया