काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताएका छन् ।
बिहीवार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै उनले आइटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्वपूर्ण र अभिन्न अंग बनिसकेको बताए । उनले नेपालले तिब्रताका साथ विकासका कामहरुअघि बढाइरहेको उल्लेख गर्दै आइटीइ क्षेत्रमा पनि उल्लेख्य रुपमा अघि बढिरहेको बताए ।
उनले भने, ‘अब आइटी सेक्टर चर्चाको मात्रै होइन, हाम्रो व्यवसायको, हाम्रो दैनिक जीवनको हरेक चिजको एउटा अभिन्न र महत्वपूर्ण अंग बनिसकेको छ । नेपाल अगाडि बढ्दैछ । अझ तिब्रताका साथ अगाडि बढ्न चाहिरहेको छ । यस बीचको केही अन्तरालको बहुत्तै असहज राजनीतिक अस्थिरता जस्ता कुराले देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यात हरेक कुरामा प्रतिकुल असर पारेको सबैलाई थाहा छ । त्यस प्रतिकुल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकुल ढंगले लयमा फर्काउन, गतिशिल बनाउन र अर्को वर्षबाट हामी २०२६ बाटै अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुर्याउन चाहन्छौँ । तर हाम्रो आयस्तर न्युन अवस्थामा छ । यस अवस्थालाई हामीले फेर्नु छ । हामी सबै यस कुरामा जुट्नुपरेको छ ।’
प्रधानमन्त्री ओलीले आइटी क्षेत्रलाई निर्यात व्यापारको रूपमा अघि बढाउन सकिने हिसाबले सरकार अघि बढेको पनि बताए ।





















प्रतिक्रिया