Logo

प्रमुख समाचार

ट्रम्पका अगाडि नझुक्ने चीनको अडान, अमेरिकामाथि लगायो जवाफी १२५ प्रतिशत कर



एजेन्सी । चीनले शनिबारदेखि लागू हुने गरी अमेरिकाबाट आयात हुने सामानमा १२५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । चीनको राज्य परिषद्को भन्सार कर आयोगले शुक्रबार यो निर्णय सार्वजनिक गरेको चीनका सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो कदम अमेरिकाले चिनियाँ सामानमा हालै लगाएको १४५ प्रतिशत करको जवाफका रूपमा आएको हो । आयोगले अमेरिकाको नीतिलाई  ‘अन्तर्राष्ट्रिय व्यापार नियमको उल्लंघन’ र ‘विश्व व्यापार व्यवस्थामाथिको आघात’ को रूपमा चित्रण गरेको छ । ‘अमेरिकाले लगाएको उच्च करले चिनियाँ बजारमा अमेरिकी सामानको मागलाई प्रभावित गर्नेछ, तर यसले दीर्घकालीन व्यापार सन्तुलनमा गम्भीर असर पार्दैन,’ आयोगले भनेको छ ।

यदि अमेरिकाले चिनियाँ उत्पादनमा थप करवृद्धि गरेमा, ‘चीनले त्यसको कडा जवाफ दिने र आफ्नो हितको रक्षा गर्नेछ,’ आयोगले स्पष्ट पारेको छ। यद्यपि, चीनले व्यापार युद्धबाट कुनै पनि पक्षले लाभ नपाउने भन्दै वार्तामार्फत समाधान खोज्न सकिने संकेत गरेको छ ।

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा ३४ प्रतिशत करवृद्धिको घोषणा गरेका थिए। जवाफमा चीनले पनि अमेरिकी सामानमा ३४ प्रतिशत कर लगायो । त्यसपछि ट्रम्पले बुधबार चिनियाँ आयातमा करलाई १२५ प्रतिशत पुर्‍याए ।

यसअघि नै अमेरिकाले चीनमाथि २० प्रतिशत कर लगाउँदै आएको थियो । सोहीकारण अब यो कर १४५ प्रतिशत पुगेको छ। बिहीबार चीनले पनि अमेरिकी सामानमा ८४ प्रतिशतबाट १२५ प्रतिशत करवृद्धि गरेको हो । ट्रम्पले अन्य देशमाथिको करलाई ९० दिनका लागि १० प्रतिशतमा झारे पनि चीनमाथिको कर भने यथावत राखेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार २२:०९   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।