काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर अनावश्यक निर्णय गरेको टिप्पणी गरेका छन् ।
धनकुटामा पुगेका महामन्त्री थापाले यो सरकार सफल बनाउन आफूहरुले काम गरिरहेको भए पनि अनावश्यक कामको पछि लागेको भन्दै आलोचना गरे ।
उनले भने, ‘यो सरकार सफल बनाउन हामीले काम गरिरहेका छौं । मेहनत पनि गरिरहेका छौं । परिणाम देउ भनिरहेका छौं । सरकारमा बसेका हाम्रा साथीहरुबाट देशभरि प्रशंसा गर्न पाउँ भनिरहेका छौं ।
कहिलेकाहीँ दुःख पनि लागिरहेको छ । चाहिने नचाहिने काम गर्दिनाले देशभरिका साथीहरुको बीचमा अनावश्यक रुपमा जवाफ दिँदै हिँड्नुपरेको छ ।’
महामन्त्री थापाले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई नगर्नुपर्ने कामको पछि नलाग्न आग्रह गरे । प्राधिकरणबाट कुलमानलाई हटाउने निर्णय लैजाने ऊर्जामन्त्री दीपक खड्का कांग्रेसकै हुन् । त्यसबारे उनले भने, ‘केही दिनअघि सरकारले एउटा निर्णय गर्यो ।
एउटा कर्मचारीको बारेमा, जुन निर्णय गर्ने पर्दैनथ्यो, त्यो अनावश्यक निर्णय गरेको कारणले अहिले साथीहरुले उत्तर दिँदै हिँड्नुपरेको छ ।
अनावश्यक रुपमा पार्टीका साथीहरुले सामाजिक सञ्जालमा, टोल-टोलमा हप्कीदप्की खानुपरेको छ । त्यसैले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई हामी भनिरहेका छौं, गर्नुपर्ने काम गर, नगर्नुपर्ने काम नगर । तिमीहरुले गरेको कामको प्रचार गरिदिन पाउँ न !’
उनले आफूले केही महिना स्वास्थ्य मन्त्रालय चलाउँदा गरेको कामबारे अहिले जहाँ पुगे पनि प्रशंसा हुने गरेको सुनाए ।




















प्रतिक्रिया