Logo

प्रमुख समाचार

नेपालको लोकतन्त्रमा नेता तन्त्रले पैदा गरेको संकट : सत्ता फेरबदल, पार्टी विभाजन र स्वार्थको लडाईं मै समय खेर फाल्दै नेता गण



काठमाडौं । नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अन्तर्गत परिचालित छ ।

यो प्रणाली संसारका औंलामा गनिएका शासन सत्ताभन्दा राम्रो भनिन्छ तर जहिलदेखि यो शासन नेपालमा खडा भयो । स्थिरता, सुशासन, आर्थिक समृद्धि हराउँदै बेरोजगारीको ग्रेटवाल खडा भएको छ । २०६२/०६३ का जनआन्दोलनपछि नेपाल संघीय गणतन्त्रमा गएको हो । राजतन्त्रलाई विस्थापित गर्दै यो पछिल्लो प्रणाली आएको हो । रक्तपात विहीन तवरमा २४० वर्ष पुरानो राजाको शासन फालियो ।

तर, आज त्यो बखतदेखि विगत १८ वर्ष यता गणतन्त्र आएर पनि देशमा मारकाट, लुटपाट, राजनीतिक लडाईं, जनतालाई करको नदीमा डुबाउने खेल र बढ्दो बेरोजगारलाई स्वदेशमा रोजगारी दिने योजना नबनाई युवाहरुलाई विदेश धकेल्न बाध्य पारियो ।

फलस्वरुप ३५ लाख युवा वर्ग नेपाल बाहिर अर्काको देशमा कमाउन गएका छन् । नेपालमा कलकारखाना खोल्ने कता हो कता राजनीतिक द्वन्द्व चर्काएर पंचायतकालीन वा २०४७ सालपछि स्थापित कलकारखानामा आगो लगाएर ध्वस्त पार्ने काम दल र तिनका नेता तथा कार्यकर्ताहरुले गर्दै आएका छन् ।

यसको पछिल्लो उदाहरण यही चैत १५ गते राजावादी आन्दोलन दवाउने कार्यमा भड्केको समूहले जडिबुटीस्थित एक मात्र जडिबटी कारखाना र त्यसका सवारी साधनहरुमा आगो लगाएर ध्वस्त पारे । झण्डै २८ करोड भन्दा बढीको क्षति अहिले आंकलन भइरहेको जडीबुटी कारखानामा आगो लगाएर न त आगो लगाउनेलाई लाभ मिल्यो न भड्काउने व्यक्तिलाई तर यसबाट राष्ट्रकै नोक्सानी भएको प्रष्ट छ ।

जहिले पनि सानो राष्ट्र नेपालमा संघर्ष, परिवर्तन र उतार चढाव भइरहँदा जनतामा अमनचैन स्थापित हुन सकेको छैन । नेपालको राजनीतिक इतिहास हेर्ने हो भने २००४ सालबाट आरम्भ राणा विरुद्धको आन्दोलन पछि २००७ सालमा स्थापित प्रजातन्त्र टिकाउ बनेन ।

राजा महाराजाको शासन भित्रै जंगबहादुर राणाले कोत पर्व गरी थुप्रै आफ्ना विरोधी भारदारहरुको हत्या गरेर १०४ वर्ष त्यो राणा शासन चलेको यहाँनिर स्मरणीय छ । २००७ साल पछि राजा र प्रजा मिलेर शासन गरे, २०१७ सालमा राजनीतिक परिवर्तन पछि राजा महेन्द्रले प्रत्यक्ष शासनको बागडोर आफ्नो हातमा लिएर पंचायती शासन लागू गरे जो ३२ वर्षसम्म निर्विघ्न चल्यो ।

त्यसपछि २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ मा नेपालमा पहिलो पटक जनमत संग्रहबाट स्थापित बहुदलीय शासन प्रणाली २०४६ सालसम्म चल्यो त्यसै वर्ष आन्दोलन जोड पक्डेर २०४७ सालमा राजा बीरेन्द्रले राजा सहितको बहुदलीय शासन प्रणाली घोषणा गरे ।

संविधान फेरियो तर बीरेन्द्रको वंश बिनास पछि नारायणहिटी पर्व पश्चात् शाह वंशको अन्तिम राजा ज्ञानेन्द्र शाहले २०६३ मा यो बिरासत त्यागे । आन्दोलनरत दल र पूर्व राजाबीच सहमति भएर आएको गणतन्त्रमा संघीयता र हिन्दूराष्ट्र हरणको सवाल सबैभन्दा बढी विवादित बनेको छ ।

आम जनता सनातन हिन्दू राष्ट्रको पुनःस्थापना सहित देशमा स्थिरताका लागि राजालाई संवैधानिक तवरमा स्पेस दिन माग गरेको छ । यो बेला नेपालमा दलहरुको दलतन्त्र भित्र थिचिएका जनता उकस मुकुस गर्दै धेरै खालको संकट पैदा गरेपछि आम जनता निराश छन् ।

एक पटक ५ वर्षलाई सत्तामा पुगेका दल र नेताहरु आफ्नो कार्यकाल पूरा नगर्दै सत्ता फेरबदल, पार्टी विभाजन र स्वार्थको लडाईमै समय खेर फाल्ने काम गर्दा जनताको वास्तविक समस्या जस्ताको त्यस्तै रहेको छ ।

सन् १८४६ (वि.स. १९०३) मा राणाहरुले कोतपर्व गर्दा जंगबहादुरले शासन ल्याउँदा तानाशाह पल्के भनेर ब्याख्या गर्ने पुरानो पुस्ताहरु र त्यसको सन्तुलीत हालका शासकहरुलाई त्यो भन्दा खराब ठहर्याउँदै आएका छन् । जनता राम्रो शासनको भुलभुलैयामा झनझन खराब अवस्था बेहोर्नुलाई शासन प्रणालीको दोषभन्दा शासकहरुको गल्तीमा निर्भर भएको आम जनताको बुझाइ छ ।

प्रणाली कुनै खराब हुँदैन । केही कम र बढी प्रजातान्त्रिक कुरा मात्र फरक हन्छ । तर, प्रणाली राम्रो संचालन गर्ने नेता भएन भने जस्तो सुकै राम्रो प्रणालीले जनतामा डिलेभरी दिन सक्दैन ।

पछिल्लो दश बाह्र वर्ष यता केवल सत्ता फेरबदल, पार्टी तोडफोड र स्वार्थमा नेताहरु अल्झिदा जनताको पीरमर्का ओझेलमा परेको देखिन्छ । जनताले चुनाव ताका पाएका आश्वासन पूरा नहुनु, विकासले गति नलिनु, कर माथि कर उठाएर उठाइएका कर जनताका लागि खर्च नगरी राज्यकोषको रकम नेताहरुले भ्रष्टाचार गर्ने गरेको आरोप लाग्दै जादाँ जनता आक्रोशित बन्नु स्वभाविक छ ।

अहिले जनतामा निराशा छाउँदै बेला पूर्व राजाको पछिल्लो सन्देश र सडकमा गरिएको स्वागतले चर्चा बटुलेको खबर अपर्णमा उल्लेख छ । तर, तीनकुनेमा जसरी ज्यादती भयो र निदोष मारिए जनताले झन राज्यको उदाङ्गो स्वरुप हेर्न पाए । शान्तिपूर्ण भेला बिथोल्ने भरुवा र राज्यपक्ष दुबै यसमा दोषी पाइएको भनिन्छ । जनता परिवर्तनको अनुभूति खाज्दै छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार ०८:००   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।