काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष–२०८२ मा नयाँ सरकार बन्ने आशा गरेका छन् ।
हालै चितवन पुगेका प्रचण्डले पत्रकारहरूसँग वर्तमान सरकार धेरै चल्न सक्ने अवस्था नरहेको बताएका हुन् ।
‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिराखेको छ ।
त्यसकारण कुनै पनि सम्भावना छ,’ प्रचण्डले भने, ‘केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो । मलाई लाग्छ, त्यही दिशातिर देश जान्छ ।’
राजावादी आन्दोलनविरुद्ध नेकपा एमाले सडक प्रदर्शनमा उत्रिनुपर्ने परिस्थितिलाई प्रचण्डले सरकार सञ्चालनको असहजतासँग जोडेका छन् ।
प्रचण्डले यो सरकारको विकल्प बारे पनि सार्वजनिक प्रस्ताव गरेका छन् ।
केही दिन अघिको एक अन्तर्वार्तामार्फत पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको विकल्पमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सकिने बताएका थिए ।
यद्यपि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार धेरै नजाने बताउन थालेको पनि धेरै भइसक्यो ।
प्रधानमन्त्री ओलीले ‘सरकार ढल्दैन’ भन्नु र प्रचण्डले ‘सरकार धेरै चल्दैन’ भन्नु सार्वजनिक भाषणका अनिवार्य विषय बनिसकेका छन् ।
कांग्रेस र एमालेबीच गत १७ असारमा ७ बुँदे सहमति गरी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय भए लगत्तै प्रचण्डले पनि सरकारमा फर्कन सकिने विकल्प खोज्न थालिसकेका थिए ।
गत २६ साउनमा बसेको माओवादी स्थायी समिति बैठकको निर्णयले कांग्रेस–एमाले सत्ता समीकरण भत्काउने उद्देश्य राखेको प्रष्ट अनुमान लगाउन सकिन्छ ।
‘एकपल्ट बिग्रियो भनेर सधैका लागि बिग्रिने होइन । बृहत वामपन्थी एकता गर्दै अगाडि बढ्दा, अरु पार्टीहरू पनि आउँदै गर्दा खासखास नेताहरू अहिले कम्युनिष्ट पार्टीको पुर्नगठन नचाहे पनि अन्तिममा अनिवार्य छ’, त्यस दिनको बैठकले गरेको निर्णय थियो ।
अर्थात् प्रचण्डले जुनसुकै बेला कम्युनिष्टहरू एकताबद्ध हुन सक्छन् र त्यसको पहल कदमी आफूले लिने सार्वजनिक सन्देश दिएका थिए ।
प्रधानमन्त्रीबाट हट्ना साथ समाजवादी मोर्चाको ब्यानरमा गतिविधि बाक्लो बनाउँदै पार्टी एकतासम्मको उद्देश्य राख्नुले पनि वाम एकताकै सन्देश प्रचण्डले दिइरहेका छन् ।
समाजवादी मोर्चामा रहेका दलहरू लगभग कम्युनिष्ट वा कम्युनिष्ट पृष्ठभूमिका छन् । त्यसैले जुनसुकै बेला कम्युनिष्ट एकता फेरि हुन सक्ने सन्देश प्रचण्डले दिइरहेका छन् ।
२०७४ मा चुनावी सहकार्य र २०७५ मा एमालेसँग पार्टी एकता नै गरेको पृष्ठभूमिमा प्रचण्डले दिइरहेको सन्देशलाई बेवास्ता गर्न सकिने अवस्था छैन ।
तर, सार्वजनिक अभिव्यक्तिहरूमा भने प्रचण्ड ठीक उल्टो सुनिदै आएको छ । कांग्रेस र सभापति देउवा भन्दा बढी ओली र एमालेप्रति प्रचण्ड आक्रामक छन् ।
हुन त प्रचण्ड प्रमुख विपक्षी दलका नेता भएकाले प्रधानमन्त्रीमाथि प्रश्न उठाउनु स्वभाविक पनि हो ।
तर, कांग्रेसका संस्थापन इतर नेताहरू समेत प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका बेला प्रचण्डको सार्वजनिक अभिव्यक्तिलाई चासोकै साथ हेरिएको छ ।
काङ्ग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला र उनी पक्षीय नेताहरूले यस अघिबाटै सरकारप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।
केही समय यता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समेत सरकारले अपेक्षित काम गर्न नसकेको टिप्पणी गर्न थालेका छन् ।
यद्यपि नेताहरू सार्वजनिक अभिव्यक्तिकै कारण वर्तमान सरकार संकटमा नपर्ने बताउँछन् । ओली र देउवाबीचको सम्बन्धमा समस्या नआएसम्म सरकारलाई कुनै असर नपर्ने कांग्रेस–एमालेकै नेताहरू बताउँछन् ।
माओवादी केन्द्रका एक पदाधिकारी पनि प्रचण्डको अभिव्यक्तिकै कारण राष्ट्रिय राजनीतिमा कुनै परिवर्तन आउन सक्ने सम्भावना देख्दनैन् । ‘पार्टीले त्यस्तो कुनै निर्णय गरेको छैन ।
अध्यक्षले के बोल्नु हुन्छ, त्यतातिर नजाआंै ती पदाधिकारी भन्छन् । कांग्रेस–एमालेले सत्ता सहकार्य थालेपछि विकल्पहीन बनेका प्रचण्डले सत्ताको खेलमा नअल्मलिने र जनताको बीचमा जाने घोषणा गरेका थिए ।
सरकारबाट हट्नासाथ पार्टी निर्माणको कार्यक्रम पनि सार्वजनिक गरिएको थियो । प्रचण्डलेत यो संसदीय कार्यकालमा सरकारमा जाँदै नजानेर जानु परे आफू नजाने घोषणा पनि गरेका थिए ।
‘सरकारमा जाने सम्भावना भएपनि म जादिँन, पार्टीकै अर्कै साथीलाई सरकारको नेतृत्व गर्न पठाउछ’ु, २३ साउन २०८१ मा विराटनगर पुगेका प्रचण्डले भनेका थिए ।
अर्थात् माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाए भने पनि अर्कै नेतालाई प्रधानमन्त्री बनाउने प्रचण्डको घोषणा थियो । त्यसबेला प्रचण्डले पार्टी निर्माणमा अपिल गर्नेगरी भावुक मन्तव्य पनि दिएका थिए ।
नेताहरू नसुध्रिएर आँखै अगाडि माओवादी सकिने प्रचण्डको भनाइ थियो । ‘…हामी जनयुद्धको तयारी गर्ने, जनुयद्ध उठाउने, हजारौं मान्छेहरूको बलिदानपूर्ण महानक्रान्तिकारी आन्दोलनको नेतृत्व गर्नेहरूलाई हेर्दा हेर्दै पार्टी सिद्धिन लागेको कुरा त कम पीडादायी हुन्छ होला त !’, पार्टी निर्माणमा खटिन प्रचण्डको अपिल थियो ।
सरकारको खेलमा नअल्मलिने घोषणा गरेका प्रचण्डले केही समय नबित्दै वर्तमान सरकार धेरै नजाने बताउन थालेका छन् । उनको दाऊ भने ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउनु रहेको लुक्दैन ।
जसका निम्ति प्रचण्डले गत माघ पहिलो साता विपक्षीहरूको ८० सांसद आफ्नो साथमा उभिन तयार रहेको सन्देश नै दिएका थिए । निकट विगत हेर्दा पनि प्रचण्डमा लामो समय विपक्षीमा बस्ने धैर्यता देखिदैन ।
२५ असोज २०७२ मा ओलीलाई प्रधानमन्त्री मानेर सरकारमा जान थालेको माओवादी लगातार ९ वर्ष सरकारमा बसेको थियो । ५ पुस २०७७ मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछिको सात महिना र गत ३१ असार यता बाहेक माओवादी सँधै सरकारमा छ ।
आफ्नो नेतृत्वको सरकार ढल्दै गर्दा पनि प्रचण्डले यो संसदीय कार्यकालको पाँचै वर्ष आफू प्रधानमन्त्री हुन सक्ने सम्भावना रहेको सार्वजनिक भाषण गर्थे । ‘…अहिले डेढ वर्ष भयो, तर म बसेकै छु र मैले जे देखेको छु सबै परिस्थिति ।
तरिका मिल्यो भने पुरै अवधि बसिन्छ’ प्रचण्डले गत ८ असारमा मात्र भनेका थिए, ‘हामीलाई हटाउन सजिलो छैन इतिहासका कारणले, मद्दुाका कारणले, आन्दोलनका कारणले र हाम्रो जादु नम्बरका कारणले पनि ।’
यद्यपि यस्तो भाषण गरेको एक साता नबित्दै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदै ओली प्रधानमन्त्री बनेका खबर राष्ट्रवाणीमा उल्लेख छ ।




















प्रतिक्रिया