Logo

प्रमुख समाचार

एमालेले खोस्यो पूर्वमन्त्रीको जिम्मेवारी



काठमाण्डौं । सत्ता घटक दल एमालेले पूर्वमन्त्री तथा ताप्लेजुङ जिल्ला कमिटीका पूर्वअध्यक्ष बलबहादुर साम्सोहाङको जिम्मेवारी खोसेको छ । कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका साम्सोहाङ दश बुँदे पक्षधर हुन् ।

उनी एमाले सचिव योगेश भट्टराईसँग निकट मानिन्छन् । साम्सोहाङसँगै युवा नेता मणि पोमुको पनि जिम्मेवारी खोसिएको छ ।दुई नेतामाथि युवा संघको जिल्ला अधिवेशन स्थलमा तोडफोड र हातपात गरेको आरोप छ ।

गत वैशाख १८ गते ताप्लेजुङमा सम्पन्न युवा संघको अधिवेशनमा संस्थापन पक्षले एकलौटी गर्न खोजेको भन्दै साम्सोहाङ पक्षले तोफोड गरेको थियो । दुई पक्षबीच हातपात पनि भएको थियो ।

साम्सोहालको निर्देशनमा पोमुको समूहले बन्दसत्र हलभित्र हातपात गरेको आरोप छ । ताप्लेजुङ जिल्ला कमिटी र युवा संघले गरेको उजुरीका आधारमा प्रदेश कमिटीले दुई नेतालाई निलम्बन गरेर छानबिन सुरु गरेको नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिएका छन् ।

उनका अनुसार छानविनका लागि प्रदेश कमिटी उपाध्यक्ष टीकाराम चेम्जोङको नेतृत्वमा समिति गठन भएको छ । यो समितिलाई छानबिनका लागि एक महिनाको समय दिइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार २२:३८   :  बजे

432
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।