काठमाण्डौं । कांग्रेस वरिष्ठ नेता शेखर कोइरालाले केपी ओली नेतृत्वको वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।
पार्टीनिकट पत्रकारको सस्था नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले भ्रष्टाचार नियन्त्रण, सुशासन, र संविधान संशोधनजस्ता विषयमा सरकार पूर्णरूपमा असफल भएको बताए ।
संसदका दुई प्रमुख दल काँग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिलाई सरकार आफैंले बेवास्ता गरेको आरोप उनको थियो । ‘दुई दल मिलेर सरकार बनाएपछि तब नागरिकले सुधारको अपेक्षा गरेका थिए’, कोइरालाले भने,‘ तर, यो सरकारले न त भ्रष्टाचार रोक्न सकेको छ । न सुशासन दिन सकेको छ ।’
कोइरालाले दुई महिनासम्म नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्ति गर्न नसक्नुले सरकारको अयोग्यता पुष्टि भएको तर्क गरे । यस्तो सरकारबाट सुशासनको अपेक्षा गर्नु बेकार रहेको उनको भनाइ थियो ।
‘अघिल्लो गभर्नरको कार्यकाल सकिनु एक महिना बाँकी हुँदा नै नयाँ नियुक्तिको सिफारिस गर्नुपर्ने हो । तर, कार्यकाल सकिएको दुई महिना बितिसक्दा पनि सरकारले नयाँ गभर्नर दिन सकेको छैन’, उनले भने, ‘यस्तो सरकारले के सुशासन दिन्छ, के काम गर्न सक्छ ?’
उनले आफ्नै दल सहभागी सरकारको असक्षामताको दोष काँग्रेसले नलिने जिकिर गरे । काँग्रेस सरकारमा सहभागी भए पनि नेतृत्व एमालेको भएकाले असफलताको मुख्य जिम्मेवारी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने कोइरालाले बताए ।
‘सरकारको नेतृत्व जसले गर्छ, उत्तरदायित्व पनि उसैले लिनुपर्छ’, कोइरालाले भने । फरक प्रसंगमा कोइरालाले काँग्रेस महाधिवेशन तोकिएकै समय आगामी मंसिरमा हुनुपर्ने माग गरे । महाधिवेशन ढिलो गरिए पार्टीकै अस्तित्वमाथि खतरा उत्पन्न हुने चेतावनी दिए ।




















प्रतिक्रिया