काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको साताव्यापी भ्रमणमा गएकी छन्। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेपाल सरकारका केही मन्त्री र नेकपा एमालेका नेताहरूसहित भण्डारीको भ्रमण टोली चीन पुगेको हो।
उनी राजनीतिमा सक्रिय रुपमा फर्किन सक्ने संकेतका रूपमा यो भ्रमणलाई हेरिएको छ। विश्लेषकहरूका अनुसार चीनले भण्डारीलाई नेपालका वामपन्थी शक्तिबीच एकताको संयोजकका रूपमा अघि बढाउन सक्ने अनुमान गरिएको छ। भ्रमण टोलीमा एमालेका वरिष्ठ नेता र सरकारका मन्त्रीहरू सहभागी छन्।
भण्डारी चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओसँग भेट्नेछिन् भने राजनीतिक दलहरूबीचको सम्बन्ध विषयमा मुख्य वक्ताका रूपमा पनि सम्बोधन गर्ने कार्यक्रम छ।
यसैबीच, एमालेभित्र भने पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा प्रतिस्पर्धाविना नेतृत्व चयन गर्ने प्रवृत्ति तीव्र भएको छ। पोखरामा जारी राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनमा पनि वर्तमान अध्यक्षलाई नै टिकाउने तयारी भइरहेको छ।
ओलीको दबाबमा सहमतिको नाममा नेतृत्व तय गरिँदै आएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ। यसअघि प्रेस चौतारीदेखि जनसांस्कृतिक महासंघसम्मका सबै जनसंगठनमा पनि यस्तै शैलीमा पदाधिकारी चयन गरिएको थियो।
भण्डारीको विदेश भ्रमण र एमालेभित्रको टिके संस्कृतिको पुनरावृत्तिले एमालेको आन्तरिक राजनीति र आगामी सत्ता समीकरणमा नयाँ तरंग ल्याउन सक्ने संकेत देखिएको छ।




















प्रतिक्रिया