काठमाडौं । भिजिट भिसा प्रकरणले मुलुकको राष्ट्रिय राजनीति तातिरहेको बेला गृहमन्त्री रमेश लेखकको राजीनामा माग चुलिँदै गएको छ। सत्तारूढ दल नेपाली कांग्रेसभित्रै मन्त्रीको नैतिक जिम्मेवारी उठाउँदै राजीनामा माग्ने स्वरहरू बलियो बनेका छन् भने, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पनि दबाबमा परेको देखिन्छ।
प्रतिनिधिसभामा मंगलबार प्रमुख प्रतिपक्षी दलहरूले बैठक अवरोध गरेपछि संसद् स्थगित् भएको छ। प्रमुख विपक्षीहरू गृहमन्त्री लेखकको राजीनामा, प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन समितिको मागमा अडिग देखिएका छन्।
पार्टीभित्र बढ्दो असहजता
गृहमन्त्री लेखकले पार्टीभित्रैका नेताहरूले सार्वजनिक रूपमा राजीनामा माग्दा चित्त दुखाएका छन्। सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा उनले यदि पार्टीलाई आफ्नो कारणले असहज भएको हो भने मार्गप्रशस्त गर्न तयार रहेको संकेतसमेत दिए।
यद्यपि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले लेखकको पक्षमा उभिंदै कर्मचारीको गल्तीका आधारमा मन्त्रीको राजीनामा माग्नु उचित नहुने बताएका छन्।
तर, डा. शेखर कोइराला, डा. सुनिल शर्मा र राजेन्द्र बजगाईंले लेखकको राजीनामा मागेपछि कांग्रेसभित्र मतभेद सतहमा आएको छ। शशांक कोइरालाका अनुसार, उक्त नेताहरूलाई स्पष्टीकरण सोध्ने प्रस्तावसमेत बैठकमा उठेको थियो।
देउवाको विकल्प: बलायर पहिलो प्राथमिकता
राजीनामा दिनुपर्ने अवस्था आएमा गृहमन्त्रीको उत्तराधिकारी को हुने भन्नेबारे कांग्रेसभित्रै चर्चा सुरु भएको छ। स्रोतहरूका अनुसार सभापति देउवाको पहिलो रोजाइ वीरबहादुर बलायर हुन्, जो कैलाली–४ बाट निर्वाचित सांसद हुन्।
यदि बलायर अगाडि बढाउन कठिन भयो भने, पार्टीका वरिष्ठ नेता कृष्णप्रसाद सिटौला र प्रवक्ता डा. प्रकाशशरण महत दोस्रो र तेस्रो विकल्पका रूपमा रहेका छन्।
संसद् अबरुद्ध, बजेट अन्यौलमा
संसद् अबरुद्ध भइरहँदा सरकार यही जेठ १५ गते बजेट सार्वजनिक गर्ने संवैधानिक बाध्यता सामना गर्दैछ। तर, भोलि जेठ १४ गते पनि संसद् सञ्चालन हुने अवस्था देखिँदैन, जसले गर्दा बजेट प्रक्रिया नै प्रभावित हुने खतरा देखिएको छ।
गृहमन्त्रीको जवाफ रोकियो
आज संसद्मा गृहमन्त्री लेखक आफूमाथि उठेको प्रश्नको जवाफ दिन उपस्थित भए पनि विपक्षीको नाराबाजीका कारण बोल्न पाएनन्। कांग्रेस र एमालेका केही सांसदहरूले लेखकमाथि मिडिया रिपोर्टको आधारमा लाञ्छना लगाइनु अनुचित भएको बताएका छन्।
उनीहरूको दाबी अनुसार, गृहमन्त्रीको प्रत्यक्ष संलग्नता प्रमाणित नभएकाले राजीनामा आवश्यक छैन। गृहमन्त्री लेखक अहिले पनि आफ्नो जिम्मेवारीमा सक्रिय छन् र उनले केन्द्रीय सुरक्षा समिति बैठक डाकेका छन्।
उक्त बैठकमा यही जेठ १५ गते राप्रपाको नेतृत्वमा हुन लागेको राजावादी प्रदर्शनको सन्दर्भमा आवश्यक सुरक्षा तयारीबारे छलफल हुने जनाइएको छ।




















प्रतिक्रिया