वीरगञ्ज । भारतमा कोभिडका बिरामीहरू देखिन थालेपछि पर्सा जिल्लामा सतर्कता अपनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले कोभिड संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सीमा नाकामा जाँच प्रणालीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो।
प्रजिअ अर्यालका अनुसार भारत र नेपालका केही स्थानहरूमा पुनः कोभिड संक्रमित देखिन थालेपछि पर्सा जिल्लामा पनि स्वास्थ्य सतर्कता अनिवार्य भएको हो। “भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरूमाथि हेल्थ डेस्कमार्फत निगरानी बढाइनेछ। आवश्यक परेमा सुरक्षाकर्मी तथा स्वास्थ्य जनशक्तिको संख्या पनि बढाइनेछ,” अर्यालले बताए।
बैठकले जिल्लाका अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। साथै, जटिल प्रकृतिका शंकास्पद बिरामीहरूलाई अन्यत्र रेफर नगर्न पनि अनुरोध गरिएको छ।
त्यसैगरी, बैठकले मास्क, सेनिटाइजर, अक्सिजन लगायत कोभिड उपचारमा प्रयोग हुने ‘लाइफ सेभिङ’ सामग्रीहरूको पर्याप्त स्टक सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
नाका कर्मचारीको पारिश्रमिक तत्काल दिन सुझाव
सीमा प्रवेश विन्दुहरूमा खटिएका कर्मचारीहरूले विगतदेखि तलब तथा सेवा–सुविधा नपाएको गुनासो बैठकमा उठेको थियो। यसै सन्दर्भमा, रोकिएको पारिश्रमिक तुरुन्त उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णयसमेत गरिएको छ।
आरडिटी, पिसिआर किट र खोपको माग
कोभिड परीक्षण तथा रोकथामका लागि आवश्यक पर्ने आरडिटी किट, पिसिआर परीक्षण सामाग्री र खोप उपलब्ध गराउन संघीय सरकारअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आग्रह गर्ने निर्णय बैठकले गरेको छ।
स्थानीय तहलाई सचेत रहन अनुरोध
जनस्तरमा कोभिडसम्बन्धी सचेतना अभिवृद्धि गर्न स्थानीय तहलाई सक्रिय भूमिका निर्वाह गर्नसमेत अनुरोध गरिएको छ। स्वास्थ्य सुरक्षा र पूर्वतयारी योजनाका उपायहरू अवलम्बन गर्न सबै स्थानीय तहलाई आग्रह गरिएको बैठकका निर्णयमा उल्लेख गरिएको छ।
भारतसँग सीमा जोडिएको पर्सा जिल्लामा कोभिड संक्रमणको जोखिम अझै समाप्त नभएको भन्दै जिल्ला प्रशासनले सतर्कता अपनाउन थालेको हो। नाकामा स्वास्थ्य निगरानी कडा बनाउने, अस्पताललाई तयारी अवस्थामा राख्ने र जनस्तरमा चेतना फैलाउनेजस्ता निर्णयहरू जिल्लालाई सुरक्षित राख्नका लागि प्रभावकारी हुने अपेक्षा गरिएको छ।





















प्रतिक्रिया