काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी शक्तिहरूको गतिविधिबाट सचेत रहन युवा वर्गलाई आह्वान गरेका छन्। आइतबार राजधानीमा आयोजित योङ कम्युनिष्ट लिग (वाइसीएल) को तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले राजावादीहरूबाट आउने हमलाको इँटको जवाफ पत्थरले दिनुपर्ने निर्देशन दिएका हुन्।
प्रचण्डले भने, “हामी शान्तिपूर्ण रूपमा अघि बढ्न चाहन्छौँ, कसैमाथि आक्रमण गर्ने मनसाय छैन, तर हामीमाथि जाइलागे इँटको जवाफ पत्थरले दिनुपर्छ। हामी त्यसका लागि तयार छौँ।”
उनको भनाइमा अहिले माओवादी केन्द्रले अघि सारेको अभियान केवल राजनीतिक गतिविधि होइन, समाजवादी क्रान्तिको नयाँ तयारी हो। “हामी जनतासँग जोडिएर अघि बढ्दैछौँ। यो अर्को समाजवादी क्रान्तिको आधार निर्माणको चरण हो,” प्रचण्डले स्पष्ट पारे।
कार्यक्रममा उनले वाइसीएललाई वर्तमान राजनीतिक परिस्थितिमा सचेत, अनुशासित र सशक्त रूपमा भूमिका खेल्न निर्देशन दिएका थिए। गणतन्त्रलाई कमजोर पार्ने, विभाजन ल्याउने र भ्रम सिर्जना गर्ने तत्वहरूसँग सजग रहनुपर्ने उनले बताए।
“गणतन्त्रको रक्षा गर्ने जिम्मा माओवादी केन्द्रको हो,” प्रचण्डले भने, “राजावादीहरूले गणतन्त्र प्रचण्डको हो भन्ने भ्रम फैलाएर जनतालाई बहकाउन खोजिरहेका छन्। त्यसको सशक्त प्रतिवाद गर्नुपर्छ।”
उनले वाइसीएललाई लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासमा अग्रसर भई काम गर्न आग्रह गरे। कार्यक्रममा देशभरका वाइसीएल प्रतिनिधिहरूको उपस्थिति थियो, जहाँ संगठन सुदृढीकरण र भावी रणनीतिबारे छलफल गरिएको थियो।
प्रचण्डको यो कडा अभिव्यक्तिले हाल राजतन्त्र पुनःस्थापनाको माग गर्दै बढ्दो आन्दोलनबीच राजनीतिक बहसमा ताजगी थपेको देखिन्छ।
















प्रतिक्रिया