Logo

प्रमुख समाचार

“गर्व गर्नुस्, घमण्ड नगर्नुस्” – युवालाई प्रधानमन्त्री ओलीको सुझाव



काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा अरूलाई गाली गरेर हिंड्ने मानिसहरू प्रायः पारिवारिक तनावमा हुने बताएका छन्। बुधबार काठमाडौंमा ‘आईडिया स्टुडियो’ द्वारा आयोजित नवप्रवर्तक युवासँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो विचार व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले युवाहरूलाई चित्त नबुझ्ने कुरामा नअल्झिन र सकरात्मक सोच राखेर अगाडि बढ्न आग्रह गरे। “चित्त नबुझेको नाममा गाली गर्ने, केही नगर्ने, नकारात्मक सोच राख्ने मानसिकता सही होइन,” उनले भने।

उनका अनुसार फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमा दिनरात मुख छाडेर हिंड्ने बानी भएका मानिसहरूको पारिवारिक जीवनमा तनाव हुने गर्छ। “यदि ती मानिसहरूको घरभित्रको अवस्था हेर्नुभयो भने टेन्सन देख्नुहुन्छ,” उनले स्पष्ट पारे।

ओलीले यस्ता व्यवहारहरू मानिसको बानीकै परिणाम भएको बताउँदै भने, “जब त्यो बानी बन्छ, त्यसले उसैलाई मानसिक र सामाजिक रूपमा असर गर्छ।”

प्रधानमन्त्रीले गाली गर्ने संस्कृति न व्यक्तिको लागि, न परिवारको लागि, न समाजको लागि उपयोगी हुने बताए। “त्यसले न त स्वास्थ्य राम्रो बनाउँछ, न पारिवारिक सम्बन्ध, न समाज नै,” उनले भने।

उनले युवाहरूलाई आफ्नो काममा गर्व गर्न प्रोत्साहन गर्दै घमण्ड नगर्न सुझाए। “गर्व गर्नु राम्रो कुरा हो, तर त्यसलाई घमण्डमा बदल्नु गलत हो,” उनले जोड दिए।

प्रधानमन्त्री ओलीले नेपालको रोजगारी समस्या समाधान गर्न उद्यमशीलताको विकास अपरिहार्य भएको पनि बताए। “रोजगारी सिर्जना सरकार एक्लैले गर्न सक्दैन, उद्यमशीलता जरुरी छ,” उनले भने।

उनका अनुसार युवाहरूले आफैं केही नयाँ सोच, नयाँ प्रयास र सिर्जनात्मक कार्य गरेर देशको विकासमा योगदान दिन सक्छन्।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार २१:३७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।