Logo

प्रमुख समाचार

गृहमन्त्री लेखकलाई सदनमा बोल्न दिने विपक्षीको सहमति, पाण्डेले गरे फोन



काठमाडौं । पछिल्लो समय भिजिट भिसा प्रकरणका कारण संसद् अवरुद्ध भइरहेका बेला प्रमुख प्रतिपक्षी दलहरूबीच गृह मन्त्रालयको पक्ष राख्न गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिने सहमति बनेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संसद् भवनस्थित चेम्बरमा शुक्रबार बसेको विपक्षी दलहरूको बैठकमा उक्त सहमति जुटेको हो।

बैठक सकिनेबित्तिकै एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र पाण्डेले गृहमन्त्री लेखकलाई फोन गरेर उक्त सहमतिको जानकारी गराएको स्रोतले बताएको छ। फोनवार्तामा पाण्डेले गृहमन्त्रीलाई संसद्‍मा आफ्नो पक्ष राख्न पाउने वातावरण बनाइएको सूचना दिएका हुन्।

गृहमन्त्री लेखक पछिल्लो समय भिजिट भिसा दुरुपयोग प्रकरणमा प्रत्यक्ष मुछिएपछि प्रतिपक्षी दलहरूले उनलाई सदनमा बोल्न नदिने अडान लिँदै आएका थिए। तर आजको बैठकले परिस्थिति सहज पार्ने प्रयासस्वरूप संसद्को मर्यादा अनुसार गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको हो।

त्यस्तै, विपक्षी दलहरूको बैठकले नेपाली कांग्रेससँग संवाद र समन्वय गर्ने जिम्मेवारी तीन जना सांसदलाई दिएको छ। ती सांसदहरूले कांग्रेस नेतृत्वसँग छलफल गर्दै संसद् सञ्चालनको अवस्था सहज बनाउन भूमिका खेल्ने बताइएको छ।

बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू सहभागी थिए। विपक्षी गठबन्धनले सरकारसँग पारदर्शी छानबिन र जवाफदेहिता सुनिश्चित गरिनुपर्ने माग गर्दै आएको छ।

संसद् सञ्चालनमा देखिएको गतिरोध अन्त्य गर्ने दिशामा यो सहमति सकारात्मक संकेतका रूपमा हेरिएको छ। गृहमन्त्री लेखकले अब संसद्‍मा आफ्नो पक्ष स्पष्ट पार्ने अवसर पाउने भएकाले राजनीतिक तनाव केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार ०९:३०   :  बजे

618
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।