काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई सफल बनाउन पार्टीले सबै तर्फबाट प्रयास गरिरहेको बताएका छन्। विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको उल्लेख गर्दै गम्भीर समीक्षा भइरहेको जानकारी दिए।
थापाले भने, “हाम्रो सभापतिले पनि स्पष्ट रूपमा भन्नुभएको छ—सरकारले जुन गति र परिणाम दिनुपर्ने हो, त्यो पूरा गर्न सकेको छैन। यस विषयमा गम्भीर समीक्षा भइरहेको छ।” उनले यसका लागि पार्टीले चाँडै बस्ने केन्द्रीय समितिको बैठकमा थप छलफल गर्ने बताउँथे।
त्यसैगरी, उनले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको कामबारे पनि बैठकमा गम्भीर रूपमा समीक्षा गरिने जानकारी दिए। “हामीले सरकारलाई अझ प्रभावकारी बनाउन के गर्न सकिन्छ भनेर विस्तृत योजना बनाउनुपर्ने अवस्था छ,” उनले भने।
महामन्त्री थापाले आगामी पार्टी महाधिवेशनअघि क्रियाशील सदस्यताको विषय टुंगो लगाउनुपर्ने औंल्याउँदै हरेक नेताले आफ्नो निर्वाचन क्षेत्रमा सदस्यता नवीकरणमा सक्रियता देखाउन आग्रह गरे। “अहिलेसम्म म बाहेक अन्य निर्वाचन क्षेत्रमा सदस्यता नवीकरणको काम निकै सुस्त छ, यसमा छिटो सुधार ल्याउन आवश्यक छ,” उनले जोड दिए।
उनले पार्टी संगठन सुदृढ बनाउनु अहिलेको पहिलो प्राथमिकता भएको बताउँदै सबै नेताहरूले आफ्ना क्षेत्रमा सदस्यता नवीकरण र समस्या समाधानमा ध्यान दिनुपर्ने बताए।




















प्रतिक्रिया