काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) ले धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, भाइचारा र समानताको सन्देश दिन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै उहाँले यस्तो पर्वले विविधताबीचको एकता प्रगाढ बनाउने र राष्ट्रिय भावना बलियो बनाउने बताए।
राष्ट्रपतिको भनाइमा मुस्लिम समुदायले इदको दिन रिस, राग र द्वेष भुलेर खुसी, सद्भाव र शुभकामना साटासाट गर्ने, मस्जिद वा खुलास्थानमा गई नमाज पढ्ने र अङ्गालो मारेर पर्व मनाउने परम्पराले समाजमा भ्रातृत्व र मेलमिलापको भावना फैलाउने गर्छ।
उनले यस्ता पर्वहरूले विश्वास, समर्पण र सेवा भाव बढाउँदै नेपालीहरूको मौलिक संस्कृति संरक्षणमा पनि टेवा पुग्ने बताए। विशेषगरी विदेशमा रहेका नेपालीहरूबीच सहिष्णुता, मेलमिलाप र सहअस्तित्वको भावना सुदृढ गर्न बकर इदजस्ता चाडले भूमिका खेल्ने राष्ट्रपति पौडेलको भनाइ छ।
उनले इद उल अज्हाको माध्यमबाट सबै नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र सामाजिक समरसता कायम होस् भन्ने शुभकामना व्यक्त गर्दै समृद्ध समाज निर्माणतर्फ प्रेरणा मिलोस् भन्ने आशा व्यक्त गरे ।




















प्रतिक्रिया