Logo

प्रमुख समाचार

सत्तालिप्सा र भ्रष्टाचारमै गम्भीर छ वर्तमान सरकार : उपेन्द्र यादव



कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार सत्तालिप्सा, भ्रष्टाचार, कमिसनखोरी, बिचौलिया र भू-माफियाको संरक्षणमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन्।

शुक्रबार कपिलवस्तुको तौलिहवामा आयोजित जसपाको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष यादवले मुलुकमा देखिएका सबै समस्या वर्तमान संविधानकै त्रुटिका कारण भएको बताउँदै त्यसको पुनर्लेखनको माग गरे।

“फोहोर भइसकेको खोलाको मुहान पहिले सफा गरौँ, पानी आफैँ सफा हुन्छ,” भन्दै यादवले संविधानमा त्रुटिपूर्ण धाराहरू सच्याइएन भने मुलुक झन गम्भीर संकटमा फस्ने चेतावनी दिए।

संविधान संशोधनको एजेन्डा बोकेर बनेको सरकारले संविधान सुधारतर्फ गम्भीर ध्यान नदिएको भन्दै उनले भने, “सरकार धमिराहरूको संरक्षणमा लागेको छ, सुधार र परिवर्तनप्रति कुनै प्रतिबद्धता देखिएको छैन।”

अध्यक्ष यादवले संविधानको कार्यान्वयन संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार हुन नसकेको बताए। ठूला दलहरूले ल्याएको संविधान स्वयं कार्यान्वयन गर्न तयार नभएको र त्यसकै कारण मुलुक दशकौं अनिर्णयको बन्दी बनेको आरोप उनले लगाए।

कांग्रेस र कम्युनिस्ट दलहरू संघीयता र सुशासनमा गम्भीर नभएको उल्लेख गर्दै यादवले संविधानलाई मूल मर्मअनुसार संशोधन गरी जनताको भरोसा जित्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र बलियो सरकार बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार १५:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।