Logo

अर्थ

कुमारी बैंकको नाफा २ अर्ब माथि, लाभांश क्षमता कति?



काठमाडौं । कुमारी बैंकको नाफा २ अर्ब नाघेको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको हो । अघिल्लो वर्ष यस्तो नाफा जम्मा ४६ लाख रुपैयाँ रहेको थियो । यो बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४५८२९.०१ प्रतिशतले बढेको छ।

बैंकले इम्पेरिमेन्ट चार्जमा छुट्टयाउनुपर्ने रकम अघिल्लो वर्षको तुलनामा घट्नु यो वर्ष नाफा बढ्नुको मुख्य कारण रहेको देखिएको छ ।

बैंकले खुद ब्याज आम्दानीबापत अघिल्लो वर्ष १० अर्ब ८० करोड आर्जन गरेकोमा यो वर्ष ११ अर्ब ५५ करोड रुपैयाँ पुर्‍याएको छ । शुल्क तथा ब्याजसम्बन्धी आम्दानी २ अर्ब ९ करोडबाट बढेर २ अर्ब ६७ करोड पुगेको छ ।

बैंकले अघिल्लो वर्ष इम्पेरिमेन्ट चार्जमा ६ अर्ब ८४ करोड छुट्याएकोमा यो वर्ष २ अर्ब ७९ करोड छुट्याएको छ ।

बैंकको निक्षेप यो वर्ष बढेको छ भने कर्जा प्रवाह घटेको देखिन्छ । अघिल्लो वर्षको असार मसान्तमा ३ खर्ब ३३ अर्ब रहेको निक्षेप ३ खर्ब ६४ अर्ब पुगेको छ । कर्जा प्रवाह २ खर्ब ६८ अर्बबाट २ खर्ब ६० अर्बमा झरेको देखिन्छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात ६.४२ प्रतिशत पुगेको छ । पुँजीकोष अनुपात १२.९८ प्रतिशत रहँदा कस्ट अफ फण्ड ४.७४ प्रतिशत, सीडी अनुपात ७५.७३ प्रतिशत, बेसरेट ६.४४ प्रतिशत, स्प्रेडदर ३.५९ प्रतिशत तथा पुँजी कोषमा प्रतिफल ५.६८ प्रतिशत रहेको छ ।

यो वर्ष नाफामा सुधार भए पनि बैंकले लाभांश बाँड्न भने सक्ने छैन । उठ्न बाँकी ब्याजको रकम बढ्दा बैंकले नियामकीय समायोजनबापत ठुलो रकम छुट्टाउनु परेकोले बैंकको वितरणयोग्य नाफा नकारात्मक अवस्थामा देखिन्छ ।

२६ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकसँग अहिले रिजर्भमा १३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यस अनुसार बैंकको नेटवर्थ १४२.४९ रुपैयाँ रहेको देखिन्छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १०:५३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।