Logo

अर्थ

वर्षअघिदेखि तयारी थालेको व्यापार मेलामा भाँजो नहाल्न उद्योग सङ्घको आग्रह



बुटवल । एक वर्षअघिदेखि तयारी थालेको पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव २०८२ मा भाँजो नहाल्न उद्योग व्यापार सङ्घ बुटवलले रुपन्देही उद्योग सङ्घलाई आग्रह गरेको छ ।

उद्योग व्यापार सङ्घले बुटवल मण्डपमा २०८२ पुस ५ देखि १८ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने निर्णय गरी गत पुस २१ गते बुटवल उपमहानगरपालिकामा निवेदन दर्ता गरेको थियो ।

यस्तै सहरी विकास मन्त्रालय विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिमा मेला आयोजना गर्न स्थानको स्वीकृतिका लागि निवेदन दिएकामा उक्त समितिले बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाईलाई पत्राचार गर्दै पुस ४ अगावै निर्माण कार्य पूरा गरी स्थान दिन निर्देशन गरेको थियो ।

यी प्रक्रिया पूरा गरेर प्रदेश र सङ्घीय मन्त्रालयहरूमा प्रस्तावना पत्र समेत बुझाई करिब ३० प्रतिशत तयारी पूरा गरेको अवस्थामा रुपन्देही उद्योग सङ्घले एक्कासि सोही ठाउँमा पुस ३ देखि औद्योगिक प्रदर्शनी गर्ने भन्दै शनिबार बोर्ड गाडेपछि उद्योग व्यापार सङ्घले आपत्ति जनाएको हो ।

एक वर्षदेखि तयारी गरेको मेलाका सम्बन्धमा महिनौँसम्म सार्वजनिक रूपमा मौन बसेको उद्योग सङ्घले एक्कासि बोर्ड राखेर सरासर गलत काम गरेको उद्योग व्यापार सङ्घ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए ।

पत्रकार सम्मेलनमा बुटवल उपमहानगरसँग बुटवलका चार व्यावसायिक संस्थाबिच भएको सहमतिलाई रुपन्देही उद्योग सङ्घले तोडमोड गरी एकतर्फी व्याख्या गरेर बलिच्याई गरेकाले कदापि स्वीकार्य नहुने अध्यक्ष पाण्डेले स्पष्ट पारे । उद्योग व्यापार सङ्घका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले २०७८ पुसमा आफूहरूले देवी नगरमा मेला सञ्चालन गर्दा अन्य तीन संस्थाबिच आलोपालोमा विवाद नहोस् भनेर तीन संस्थाको नाम उल्लेख भएको र आफूहरू आयोजक भएकाले चौथो पालो स्वतः आफूहरूको भएको बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार ०७:१४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।