Logo

प्रमुख समाचार

बैंकलाई दोस्रो बजारमा कारोबार गर्न र पुँजीगत लाभकर घटाउ: लगानीकर्ता



काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर लगानीकर्ताका प्रतिनिधिहरूले सातबुँदे माग राखेका छन् । सोमबार नवनियुक्त अर्थमन्त्री खनाललाई बधाई दिँदै पुँजी बजार सुधारका लागि सातबुँदे माग पत्र बुझाएका हुन् ।

सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लश्वर कार्की (रोहन) उपस्थित भएर उक्तमाग राखेका हुन् ।

त्यसैगरी लगानीकर्ता छोटेलाल रौनियार पनि उक्त छलफलमा सहभागी थिए । उनीहरूले पुँजीबजार सुधारका लागि भन्दै बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज कारोबार गर्न दिने सम्बन्धमा व्यवस्था गर्नुपर्ने बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर बजारमा सहभागी हुन र पुँजी बजारलाई थप गतिशील बनाउन आवश्यक नीतिगत व्यवस्था सहज बनाइनु आवश्यक रहेको उनीहरूको बुझाइ छ ।

यसका लागि विद्यमान प्रतिबन्धहरू परिमार्जन गरी बैंक तथा वित्तीय संस्थाहरूलाई दोस्रो बजारमा बिना समयसिमा सहज रूपमा खरिद–बिक्री गर्न अनुमति दिने, स्वेच्छा र विवेकपूर्ण ढंगले लगानी गर्न सक्ने वातावरण सिर्जना गर्ने तथा यसले गर्दा दीर्घकालीन तरलता प्रवाह बढाउने मात्र नभई, सम्पूर्ण पुँजी बजारलाई नै स्थायित्व र विश्वास दिलाउने आधार पनि तयार हुने उनीहरूको भनाइ छ ।

यसैगरी पुँजीगत लाभकर कम गर्नुपर्ने पनि उनीहरूको माग छ । हाल छोटो अवधिको कारोबारबाट प्राप्त लाभमा ७.५ प्रतिशत र लामो अवधिको कारोबारबाट प्राप्त लाभमा पाँच प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने बाध्यता छ ।

यसलाई कम गर्दै क्रमशः छोटो अवधिको लाभमा पाँच प्रतिशत र लामो अवधिको लाभमा तीन प्रतिशत कायम गरिदिन लगानीकर्ताको माग छ ।

पुँजीगत लाभकर घटाउँदा लगानीकर्ताहरूको मनोबल बढ्ने उनीहरूको भनाइ छ । यसले सेयर बजारमा तरलता र कारोबार समेत वृद्धि भई राजस्वमा सकारात्मक प्रभाव पर्न जाने पनि उनीहरूको दाबी छ ।

पुँजीगत लाभकर सेयर बिक्री गर्दा अल्पकालीन र दिर्घकालीन नाफामा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम कर मानेर आर्थिक ऐनमार्फत स्पष्ट व्यवस्था गरी, वर्षौंदेखि लगानीकर्तामा रहेको अन्योलता हटाउन आवश्यक रहेको पनि उनीहरूको माग छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार २१:१९   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।