Logo

अर्थ

सरकारको ऋण करिब साढे २७ खर्ब नजिक



काठमाडाैं । नेपालको सार्वजनिक ऋणभार २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (भदौ मसान्त) सम्ममा यो आँकडा पुगेको हो ।

गत असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो।

भदौ मसान्तसम्म कुल ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब ८२ करोड र बाह्य ऋण १४ खर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)को आधारमा सार्वजनिक ऋण ४४.९२ प्रतिशत पुगेको छ । यसमा आन्तरिक ऋण २०.९९ प्रतिशत र बाह्य ऋण २३.९३ प्रतिशत रहेको छ ।

भदौमा विनिमय दरमा आएको उतारचढावले मात्रै ५५ अर्ब २३ करोड रुपैयाँ दायित्व थपिएको छ, जसले गर्दा सार्वजनिक ऋण ह्वात्तै बढेको हो ।

सरकारले दुई महिनामा ७९ अर्ब १५ करोड रुपैयाँ नयाँ ऋण उठाएको छ । यसमध्ये ७० अर्ब आन्तरिक ऋण र ९ अर्ब १५ करोड बाह्य ऋण प्राप्त भएको छ ।

चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १५:३८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।