Logo

सुदूरपश्चिम प्रदेश

कोरोना भाइरसका कारण सुदूरपश्चिम क्षेत्रमा रहेको प्रसिद्ध बडिकेदार मेला यो बर्ष नहुने



कोरोना भाइरस सङ्क्रमणका कारण डोटी जिल्ला अबस्थित सुदूरपश्चिम प्रदेशकै ठुलो तथा अति नै महत्व राख्ने बडिकेदार मेला यो वर्ष नहुने भएको छ । भक्तजनको मनकामना पूरा गर्ने भन्दै निकै चर्चामा रहेको बडिकेदार गाउँपालिकामा पर्ने उक्त मेला नहुने भएको हो ।

उक्त मेलामा देशका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतबाट समेत बर्सेनि भक्तजनहरु दर्शन गर्न तथा आफ्नो भाकल गर्न आउने गरेका छन् । मनले मागेको वर प्रदान हुने विश्वासका कारण बडिकेदार–५ को उच्च लेकाली डाँडामा तिहारपछि उक्त मेला लाग्ने गर्दछ ।

डोटी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि बडिकेदार गाउँपालिकाले आफ्नो गाउँपालिकाभर यो वर्ष मेला पर्व नगर्ने निर्णय गरेको छ । गाउँपालिकाले तिहारको देउसीभैलोदेखि ठूला मेलापर्वहरु नमनाउन तथा त्यस्ता मेलामा नजान स्थानीयवासीलाई आग्रह समेत गरेको छ । गाउँपालिकाले एक सूचना प्रकाशित गरी गाउँपालिकाभित्र मनाइने प्रसिद्ध बडिकेदार मेला, अलाणी मेला, धिर्काणी मेलालगायतका मेलापर्व मनाउन रोक लगाइएको बताएको छ ।

यहाँ आयोजना हुने मेलापर्वमा तराई तथा भारतबाट पनि दर्शनार्थीहरु आउने तथा भिड बढी लाग्ने भएकाले कोरोना सङ्क्रमणको जोखिम बढी हुने भएकाले गाउँपालिकाभरमा हुने सबै मेलापर्व पूर्णरूपमा बन्द गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी गरे। उनले भने, “बडिकेदार तथा धिर्काणी मेलामा भक्तजनको बढी भीड हुने भएकाले कोरोना जोखिम बढ्न सक्ने स्थितिलाई मध्यनजर गर्दै हामीले सबै मेला पर्व बन्द गराउने निर्णय गरेका छौँ, निर्णय पालना नगर्नेलाई कारवाही हुनेछ ।” गाउँपालिकामा मेला पर्व मनाउन रोक लगाइए पनि सामाजिक दूरी कायम गरी शक्तिपीठहरुमा पूजा पाठ गर्न भने रोक लगाइएको छैन । यसैगरी आगामी मङ्सिर १० गतेदेखि गाउँपालिकामा चल्ने अति आवश्यक बाहेकका सवारी साधनमा समेत रोक लगाउनने निर्णय गरिएको छ ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार ११:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।