काठमाडौं । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा १ हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म मात्रै विद्युत् निर्यातबाट करिब १५ अर्ब रुपैयाँ बराबरको आम्दानी भइसकेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार भारतको ऊर्जा बजार इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) को डे-अहेड तथा रियल-टाइम मार्केट मार्फत प्रतिस्पर्धी दरमा बिजुली बिक्री भइरहेको छ। साथै भारतका हरियाणा र बिहार राज्यसँगको द्विपक्षीय मध्यकालीन सम्झौताअनुसार पनि विद्युत् निर्यात भइरहेको उनले बताए।
भारतको प्रसारण प्रणाली प्रयोग गरेर बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् पठाइँदैछ। भारतसँगको विद्युत् कारोबार भारतीय रुपैयाँ (भारु) मा तथा बंगलादेशसँगको कारोबार अमेरिकी डलरमा भइरहेको छ।
हालसम्म नेपाल विद्युत् प्राधिकरणलाई भारत र बंगलादेशमा गरी १ हजार १ सय ६५ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति प्राप्त भइसकेको छ।




















प्रतिक्रिया