Logo

अनलाइनपाना खोज

गोप्य सूचना चुह्याउने राष्ट्र बैंकका ‘सुलसुले हाकिम’: ‘मामा-भान्जा’ को खेलमा न्यौपानेलाई पुन: उन्मुक्ति



काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडका तत्कालिन सीइओ रोशनकुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंकले नै उन्मुक्ति दिएको तथ्य भेटिएको छ। राजनीतिक पहुँचका आडमा पटक- पटकको वित्तीय अपराधबाट उन्मुक्त हुँदै आएका न्यौपानेलाई राष्ट्र बैंकमा फेरिएको नयाँ नेतृत्वले कारबाही गर्न लागेको गोप्य सूचना चुहिएपछि राजिनामा बुझाएर उनी पुन: कारबाहीबाट बच्ने प्रयास गरेका छन्।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार न्यौपाने र बैंक संचालक समितिलाई ‘फाइनान्सियल पेनाल्टी’ गरिँदैछ भन्ने सूचना राष्ट्र बैंककै प्रमुख कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका प्रमुख दिर्घ रावलमार्फत् एनआईसी एशिया बैंकमा पुगेपछि स्पष्टीकरण सोधिनु अगावै उनले राजिनामा बुझाएका हुन्। रावलका सहोदर मामा जयन्द्र रावल एनआईसी एशिया बैंकमा सहायक सिइओ छन्। उनी न्यौपानेका अतिविश्वास पात्र मानिन्छन्। न्यौपाने निकट भएकै कारण उनी एसीइओ बन्न अयोग्य हुँदाहुँदै पनि पदमा रहिआएका छन्।

बैंकको सेवामा प्रवेश गर्नकै लागि समेत न्युनतम स्नातकोत्तर गरेको हुनुपर्ने व्यवस्था छ। तर, रावल भने इन्टरमिडियटको सर्टिफिकेट लिएर बैंकको उच्च व्यवस्थापनको नेतृत्व गरिरहेका छन्। नियामक निकायको महत्वपूर्ण पदमा आफ्ना भन्जा भएकै कारण उनी नियमविपरीत एनआईसी एशियाको ए-सीइओ छन् ।

एनआईसी एशिया बैंकक संचालक तथा सीइओ न्यौपानेलाई कारबाहीबाट बचाएवापत रावल (मामा) लाई डेपुटी सीइओ बनाउन कार्यकारी निर्देशक रावल (भान्जा) ले च्याँखे थापिरहेको बैंक स्रोत बताउँछ । यधपि सहायक सीइओ बन्नकै लागि योग्यता नपुगेको भन्दै यसअघिकै साधारणसभामा रावललाई पदबाट राजिनामा दिन शेयरधनीहरुले समेत दवाव दिएका थिए।

गत आर्थिक बर्ष २९८१ /८२ को माघ महिनामा नेपाल राष्ट्रलेले एनआईसी एशिया बैंकमा नियमित सुपरिवेक्षण सुरु गर्यो। सुपरिवेक्षणका क्रममा यसअघि नै केहि निष्क्रिय कर्जाको प्रोभिजन गर्न भनिएको रकम पछिल्लो वित्तीय विवरणमा पनि नदेखाएको कैफियत फेला पर्यो। सुपरिवेक्षण प्रतिवेदनका आधारमा बैंक संचालक समिति र सीइओ न्यौपानेले यस अघि पटक-पटक दिएको नियामकीय निर्देशन पालना नगरेको भेटिएपछि उनीहरुमाथि नगद जरिवाना गर्नपर्ने निष्कर्षसहित स्पष्टीकरण सोध्ने तयारी गरेको सूचना पाएपछि न्यौपानेले पदबाट राजिनामा दिएर उन्मुक्ति हुन खोजेका छन्।न्यौपानेलाई यसअघि पनि सोहि अपराधमा नगद जरिवाना गर्न लागिएको सूचना राष्ट्र बैंकले नै दिएपछि तत्कालिन गभर्नर महाप्रसाद अधिकारीका विश्वासपात्र एवं न्यौपानेका बिजनेस पार्टनर रामेश्वर थापामार्फत् राष्ट्र बैंकलाई नै प्रभावित गरी नगद जरिवानाबाट जोगिएका थिए।

चालु आर्थिक बर्ष २०८१/८२ को दोस्रो त्रैमासमा निर्देशनविपरीत गरेपछि न्यौपानेलाई नसिहत दिएको थियो भने बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्वद्ध संस्थाहरुलाई प्रकाशित व्याजदरभन्दा बढी व्याज प्रदान गरेको, बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको व्याज रकम फिर्ता गराएको थियो ।

आगामी दिनमा यस प्रकारका कार्य नगर्ने गरी प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, अध्यक्ष श्री तुलसीराम अग्रवाल, संचालक श्री त्रिलोकचन्द्र अग्रवाल तथा संचालक श्री रामचन्द्र संघाइलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन सहित) को दफा १०० को उपदफा २(क) बमोजिम नसिहत दिएको थियो ।

त्यस्तै गरी आर्थिक वर्ष २०८२०८१/ ८२ को चौथो त्रैमासमा पनि नियमकीय पालना नगर्ने एनआईसी एशिया बैंकका सीइओ न्यौपानेलाई राष्ट्र बैंकले कारबाही गर्यो । बैंकले ऋणीबाट बढी ब्याज असुली गरेको, कर्जा सम्झौतामा समावेस गर्नुपर्ने आवश्यक विवरण नसमेटिएको तथा ऋणीलाई ब्याजदर परिवर्तनको जानकारी नदिएर आँफु खुसी ब्याजदर बढाएको भेटिएको छ। बैंकको यस्तो कार्य पारदर्शिता तथा ग्राहकको हकहित विपरीत जाने भन्दै राष्ट्र बैंकले बैंकका सिईओ रोशन कुमार नेउपानेलाई सचेत गराएको हो ।

आफ्ना सहोदर मामा नै बैंकको सहायक सीइओ रहेको र न्यौपाने उनकै विश्वास पात्र भएकै कारण रावलले सुटुक्क मामामार्फत् बैंकलाई कारबाही गर्न लागिएको र सोहिअनुसार स्पष्टीकरण सोध्नुभन्दा अगावै / राष्ट्र बैंकको रिपोर्ट सार्वजनिक हुनुअगावै बैंकबाट बाहिरिन सहयोग गरे। कारबाहीको सूचना पाउनासाथ कार्यकाल बाँकी रहँदै घरायसी कारण देखाउँदै न्यौपानेले २०८२ साल भदौ १ गते नै पदबाट राजिनामा दिएर बैंक छोडे।

राष्ट्र बैंकको निर्देशन पटक-पटक उल्लंघन गरेपछि बैंक तथा सीइओ माथि पुन कारबाहीको प्रकृया थालिएको छ। तर,न्यौपाने भने बैंकबाट बाहिरिसकेका छन्। न्यौपानेले सीइओ पद छोडेपछि नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकका सीइओ र संचालक समितिलाई लिखित जवाफसहितको स्पष्टीकरण सोधेको छ। जसमा बैंक तथा सीईओमाथि नगद जरिवाना किन नगर्ने भन्ने प्रश्नमा समितिसँगै न्यौपानेले समेत स्पष्टीकरणको जवाफ राष्ट्र बैंक पठाईसकेका छन्।

तर, यसअघि जस्तै गरी एनआईसी एशिया बैंकले गरेको वित्तीय अपराधमा सोधिएको स्पष्टीकरणमा अपराध गर्नेले दिएको जवाफमै चित्त बुझाउने मनस्थितिमा राष्ट्र बैंक देखिएको स्रोत बताउँछ।

यस सम्बन्धमा सीइओले पदबाट राजिनामा बुझाईसकेकाले कारबाहीको प्रकृया के हुन्छ भन्ने प्रश्नमा यसै हुन्छ भन्न नसकिने राष्ट्र बैंकका प्रवक्ता किरण पण्डित बताउँछन्। उनी भन्छन्,- यस अवस्थामा पहिलेको नजिर के छ बुझ्नुपर्छ, कानुन विभागसँग सल्लाह गरेर भन्छु।’

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १४:०५   :  बजे

768
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।