काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलका लागि घर भाडामा लिन प्रस्ताव गरेको आवेदन दिने समय बढाएको छ । असोज २७ गतेसम्म घर भाडामा दिन चाहनेहरूले प्रस्ताव पेश गर्न भनिएपनि पर्याप्त प्रस्ताव नआएपछि समय बढाएको हो ।
सोमबार नोटिस जारी गर्दै राष्ट्र बैंकले कार्तिक १६ गतेसम्म प्रस्ताव पेस गर्न सक्ने जनाएको हो ।
असोज १२ गते सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले गभर्नर पौडेलका लागि घर भाडामा सम्बन्धी प्रस्ताव पेश गर्न आह्वान गरेको थियो ।
प्रस्ताव आह्वान गरिएको १५ दिनसम्म पनि गभर्नर पौडेलका लागि खोजेजस्तो घर नभेटिएपछि २० दिन म्याद थप गरिएको छ ।
राष्ट्र बैंककाअनुसार गभर्नर पौडेलको निवासका लागि बखुण्डोलदेखि भैंसेपाटी नजिकै घर भाडामा लिन प्रस्ताव आह्वान गरिएको छ । घर भाडामा दिनका लागि ललितपुर महानगरपालिकाको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको हुनुपर्नेछ। कम्तीमा ५ वटा काररजीप पार्किङ गर्न मिल्ने, आर.सि.सि. स्ट्रक्चर सहित कम्तीमा १००० वर्ग फिट प्लिन्थ क्षेत्रमा निर्माण भएको घरको खोजी गरिएको छ ।
अन्य आवश्यकताहरूमा कम्तीमा एउटा मास्टर बेडरूम सहित ४ वटा बेडरूम, लिभिङ हल, किचेन, डाइनिङ हल तथा स्टोर रूम हुनुपर्ने, सुरक्षाकर्मी बस्ने छुट्टै भवनको व्यवस्था हुनुपर्नेछ ।
गभर्नरका लागि सुरक्षित कम्पाउन्डवाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रबन्ध भएको २.५ तलादेखि ३ तलासम्मको घर भाडामा खोजी गरिएको राष्ट्र बैंकले जनाएको छ ।




















प्रतिक्रिया