Logo

प्रमुख समाचार

प्रधानमन्त्रीको सचिवालयले भन्यो: नियुक्तिहरूमा प्रमुख स्वकीय सचिवलाई अनावश्यक जोडियो



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारलाई सचिवालयमा नियुक्त गरेको भन्दै चर्को आलोचना भइरहँदा कार्कीका प्रेस संयोजक रामबहादुर रावलले त्यसको खण्डन गरेका छन् ।

प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको जिकिर गरेको छ ।

प्रेस संयोजक रावलले सोमबार जारी गरेको विज्ञप्तिमा सुरक्षा र कार्यसूचीका कारण प्रधानमन्त्रीसँग चौबीसै घण्टा नजिक रहनुपर्ने भएकाले विश्वासिलो, भरपर्दो र निरन्तर खटिने व्यक्तिहरूको कानुनी प्रक्रियाअनुसार नियुक्ति गरिएको र त्यसलाई अन्यथा व्याख्या नगर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘अन्य नियुक्तिहरूमा पनि प्रमुख स्वकीय सचिवलाई अनावश्यक रूपमा जोडेर प्रचार गरिएको छ, जसमा कतै थर मिलेको, कतै जातीय पृष्ठभूमि मिलेको जस्ता आधारमा नातेदारीको भ्रम सिर्जना गरिएको देखिन्छ। त्यसो नगरिदिन अनुरोध गर्दछौँ।’

जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री बनेकी कार्कीले मितव्ययिता, पारदर्शिता र जवाफदेहिताको सिद्धान्तअनुसार जिम्मेवार ढंगले कार्य गर्दै आएको सचिवालयले स्पष्ट पारेको छ।

कार्यविधिअनुसार ७ जना सल्लाहकार राख्न सकिने भए पनि अहिले २ जनामात्र छन् । १९ जना विज्ञ कर्मचारी राख्न सकिने व्यवस्था भए पनि ४ जनालाई मात्र जिम्मेवारी दिइएको छ, जस मध्ये एक अवैतनिक छन् । स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि १४ जना मात्र कार्यरत छन्।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १२:४५   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।