Logo

प्रमुख समाचार

ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहारको कडा भर्त्सना



 

सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति नेपाल बैंक तथा वित्तीय संस्था कर्मचारी संघ (सिबिफिन) ले गम्भीर आपत्ति जनाउँदै कडा भर्त्सना गरेको छ।

लामो समयदेखि नियमित हुन नसकेको कर्जाको किस्ता सम्बन्धमा समाधान खोज्ने उद्देश्यले स्वयं ऋणीको आग्रहमा छलफलका लागि पुगेका बैंक कर्मचारीलाई स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेको ऋणीहरूको समूहले घण्टौँसम्म नियन्त्रणमा लिई अमानवीय व्यवहार तथा हिंसात्मक आक्रमण गरेको सिबिफिनको आरोप छ।

घटनापछि स्थानीय सुरक्षा निकायले जाहेरीबिनै तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा पीडितको जाहेरी दर्ता नगरी उल्टै मिलापत्रका लागि दबाब दिएको भन्दै सिबिफिनले आपत्ति जनाएको छ। यस्तो कार्यले पीडित कर्मचारीको मनोबलमा गम्भीर असर परेको सिबिफिनको भनाइ छ।

सिबिफिनले बैंक तथा वित्तीय संस्था जस्ता संवेदनशील क्षेत्रमाथि निहित स्वार्थका लागि गरिने आक्रमण केवल कर्मचारीमाथिको मात्र नभई राज्यकै प्रणालीमाथिको आक्रमण भएको ठहर गरेको छ। लाखौँ सेवाग्राहीलाई सेवा दिइरहेका बैंकिङ संस्थाको साख, विश्वसनीयता र सुरक्षित कार्य वातावरणमा यस्ता घटनाले नकारात्मक असर पार्ने चेतावनी दिइएको छ।

संघले नेपाल सरकार, गृह मन्त्रालय तथा मातहतका सुरक्षा निकायसँग घटनामा संलग्न सबै दोषीलाई हदैसम्मको कारबाही गर्न जोडदार माग गरेको छ। साथै बैंकिङ क्षेत्रमा अवरोध सिर्जना गर्ने, अफवाह फैलाउने, कर्जा नतिर्न दुरुत्साहन गर्ने तथा कर्मचारीमाथि भौतिक वा मानसिक आक्रमण गर्ने गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार २०:३८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।