Logo

जनप्रतिनिधि

कोशी प्रदेश सरकार पुनर्गठन, १० मन्त्रीले लिए शपथ



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार मंगलबार साँझ १० जना नयाँ मन्त्री तथा राज्यमन्त्री नियुक्त भएका हुन्।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। पुनर्गठनमा कांग्रेस र एमालेबाट समान रूपमा चार–चार मन्त्री तथा एक–एक राज्यमन्त्री नियुक्त गरिएको छ। यसअघि रहेका मन्त्रीहरूलाई हटाउँदै नयाँ अनुहारलाई मन्त्रिपरिषद्मा समेटिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

कांग्रेसतर्फबाट भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री, प्रदीप सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री तथा इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन्। शोभा पालुंवा भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन्।

सुनुवार यसअघि २०८० असारमा उद्धव थापा मुख्यमन्त्री हुँदा विना विभागीय मन्त्री तथा २०८० माघमा केदार कार्की मुख्यमन्त्री हुँदा स्वास्थ्य मन्त्री बनेका थिए। कांग्रेसबाट अन्य नियुक्त मन्त्रीहरू नयाँ अनुहार हुन्।

एमालेतर्फबाट विदुर लिङथेप आर्थिक मामिला तथा योजना मन्त्री, चिन्तन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्री तथा रामप्रसाद महतो सामाजिक विकास मन्त्री नियुक्त भएका छन्। उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका छन्।

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १८:३५   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।