Logo

समाचार

रौतहट घटनाबारे रास्वपाले भन्यो– गम्भीरताका साथ लिएका छौँ, न्याय दिलाउँछौँ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना उम्मेदवारको सवारीसाधनले किचेर ४ वर्षीया बालिकाको ज्यान गएको रौतहट घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ ।

बिहीबार रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिरको चुनावी प्रचारमा हिँडेको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु भएको थियो ।

बिहीबार दिउँसो रौतहटको ईशनाथ नगरपालिका–४ स्थित मठियाटोलमा रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिरको बा १५ च ४२४४ नम्बरको कारले मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनलाई ठक्कर दिएको थियो । लगत्तै अस्पताल लगिए पनि उपचारका क्रममा बालिकाको मृत्यु भएको थियो ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै पार्टीले यो घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौँ । कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन । साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौँ।’

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार १३:०१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।