Logo

राजनीति

मन्त्री पदको लोभ त्यागेर निर्वाचनको मैदानमा आएको हुँ: ऋषि धमला



रौतहट । रौतहट क्षेत्र नम्बर ४ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका चर्चित सञ्चारकर्मी ऋषि धमलाले आफू मन्त्री पदको लोभ त्यागेर निर्वाचनको मैदानमा उत्रिएको दाबी गरेका छन् ।

बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा स्थानीय पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो राजनीतिक यात्रा सत्ताका लागि नभई देश परिवर्तनका लागि भएको स्पष्ट पारेका हुन् । धमलाका अनुसार, वर्तमान प्रधानमन्त्री सुशीला कार्की र ‘जेनजी’ आन्दोलनका अगुवाहरूले आफूलाई मन्त्री बन्न बारम्बार आग्रह गरे पनि उनले त्यसलाई अस्वीकार गरेका थिए ।

‘मन्त्री पद मेरा लागि ठुलो कुरा होइन, म सत्ताको लागि होइन, जनताको अवस्था बदल्न राजनीतिमा आएको हुँ’ उनले भने । आफूलाई शक्ति र पदको कुनै लालसा नरहेको र केवल विकासका लागि रौतहट आएको उनले बताए।रौतहटको गरिबी र अशिक्षा हटाउन आफूले सक्रिय भूमिका खेल्ने र देशलाई नयाँ दिशा दिने उनको दाबी छ ।

बिहानदेखि मध्यरातसम्म जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्दै आएको उनले बताए । उनले प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट मोबाइल फोन चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । पत्रकारिता क्षेत्रबाट लामो अनुभव बटुलेका धमलाको रौतहट–४ मा उम्मेदवारीसँगै यस क्षेत्रको चुनावी माहोल निकै रोचक बनेको छ ।

उनले आफू विजयी भए रौतहटलाई नमुना जिल्ला बनाउने र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार १३:०७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।